‘मेरो अपराध के हो ? पक्राउ पुर्जी खोई ?’ भन्दै राणाको प्रतिप्रश्न, प्रहरीले ‘सुरक्षा थ्रेट’ देखाउँदै टेकु पुर्‍यायो

मध्यराति समातिनुअघि पूर्वप्रधानन्यायाधीश र प्रहरीबीच झण्डै एक घण्टा गलफत्ती

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई मध्यराति निवासबाट नियन्त्रणमा लिने क्रममा प्रहरी टोली र राणाबीच झण्डै एक घण्टा सवाल–जवाफ चलेको खुलेको छ । पक्राउको स्पष्ट कानुनी आधार र पुर्जी नदेखाई आफूलाई लैजान खोजिएको भन्दै राणाले प्रहरी टोलीसँग लामो समय प्रतिप्रश्न गरेको बताइएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काको नेतृत्वमा प्रहरी टोली राति करिब १२ बजे राणाको बाँसबारीस्थित निवास पुगेको थियो । टोलीले राणालाई ‘घरमा बस्दा जेनजीबाट सुरक्षा थ्रेट छ, सुरक्षाका लागि लैजान आएका हौं’ भन्ने व्यहोरा सुनाएको बताइएको छ ।

तर राणाले सुरक्षा खतरा नै रहेको हो भने निवासमै सुरक्षाकर्मीको संख्या बढाउनुपर्ने र सुरक्षा प्रबन्ध मिलाउनुपर्ने तर्क गर्दै आफूलाई प्रहरी कार्यालय लैजानुको कारण स्पष्ट पार्न माग गरेका थिए । उनले पक्राउ गर्न खोजिएको हो भने त्यसको कानुनी आधार र पक्राउ पुर्जी देखाउन प्रहरी टोलीसँग आग्रह गरेका थिए ।

प्रहरीले भने गत वर्ष भदौ २३ र २४ गते तथा त्यसअघि जेनजी समूहले प्रयोग गर्ने डिस्कोर्डको सामूहिक छलफलमा राणामाथि सुरक्षा खतरा रहेको विषय उठेको र सोही आधारमा तत्काल सुरक्षाका लागि ल्याउन आदेश भएको जवाफ दिएको बताइएको छ ।

प्रहरीको जवाफबाट चित्त नबुझेपछि राणाले ‘तपाईंहरूले जे भने पनि यो पक्राउ नै हो । मेरो अपराध र कसूर के हो ? त्यसको आधारमा पक्राउ पुर्जी खोई ?’ भन्दै प्रश्न गरेको बताइएको छ । प्रहरी टोलीले आफूलाई जसरी पनि टेकु लैजाने तयारी गरेपछि राणा आफैं गाडी चलाएर निवासबाट निस्किएको बताइएको छ ।

राणालाई त्यसपछि राति नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पुर्‍याइएको थियो । तर उनलाई नियन्त्रणमा लिनुको वास्तविक कानुनी आधार र कुन कसूरमा अनुसन्धानका लागि लगिएको हो भन्ने विषय भने तत्काल स्पष्ट पारिएको छैन ।

राणाको परिवार तथा निकटस्थहरूले समेत प्रहरीको ‘सुरक्षा थ्रेट’ सम्बन्धी तर्कमाथि प्रश्न उठाएका छन् । सुरक्षा खतरा भए व्यक्तिलाई प्रहरी कार्यालयमा लैजानुको सट्टा निवासमै सुरक्षा बढाउनुपर्ने उनीहरूको भनाइ छ । ‘पूर्वप्रधानन्यायाधीशमाथि कस्तो सुरक्षा खतरा थियो ? खतरा कसबाट थियो ? राज्यले त्यसको आधार सार्वजनिक गर्नुपर्छ’ भन्ने उनीहरूको माग छ ।

पूर्वप्रधानन्यायाधीशजस्तो संवैधानिक तथा न्यायिक क्षेत्रको उच्च जिम्मेवारी सम्हालिसकेको व्यक्तिलाई मध्यरातमा नियन्त्रणमा लिने निर्णयले पक्राउको कानुनी आधार, प्रक्रिया र राज्यले देखाएको सुरक्षा कारणमाथि समेत प्रश्न उठाएको छ ।

यसैबीच, पछिल्ला केही दिनयता सत्ता समीकरण तथा सरकार हेरफेरसँग जोडिएका विभिन्न राजनीतिक गतिविधि र चर्चाबीच राणाको पक्राउ हुनुलाई लिएर समेत विभिन्न अड्कलबाजी सुरु भएको छ । केही पक्षले राणा त्यस्ता गतिविधिमा संलग्न रहेको आशंकासँग घटनालाई जोडेर हेरेका छन् भने अर्काथरीले बहालवाला न्यायाधीश तथा न्यायिक क्षेत्रलाई दबाबमा राख्ने प्रयासका रूपमा घटनालाई व्याख्या गरेका छन् ।

तर यी दुवै कोणमा आधिकारिक रूपमा पुष्टि हुने ठोस तथ्य सार्वजनिक भइसकेको छैन । राणालाई कुन कानुनी प्रावधानअन्तर्गत, कुन कसूरको अनुसन्धानका लागि र कुन आधारमा नियन्त्रणमा लिइएको हो भन्ने विषय स्पष्ट भएपछि मात्रै घटनाको वास्तविकता थप प्रस्ट हुने देखिन्छ ।

Facebook Comments Box
जबरालाई भेट्न आयोगको टोली रोकिएपछि एसएसपी खड्कालाई मंगलबार बयानका लागि बोलाइयो
३ घण्टा अगाडि

1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा हिरासतमा रहेका बेला राष्ट्रिय मानव अधिकार…

TOP
15 Shares