दसैँमा अधिकांश भूभागको मौसम सफा रहने, पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । यस वर्षको बडादसैँमा देशका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने भएको छ। तर, हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा भने आंशिक बदलीसँगै हल्का वर्षा, मेघगर्जन र चट्याङ तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार फूलपातीदेखि दसैँको टीकाको दिनसम्म देशका अधिकांश स्थानमा घाम लाग्नेछ। बिहान र बेलुकाको समयमा चिसो महसुस भए पनि दिउँसो मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार शनिबार फूलपातीदेखि ४ कात्तिकसम्म मौसम सामान्य रहनेछ। यस अवधिमा ठूलो वर्षाको सम्भावना नरहे पनि केही स्थानमा खण्डित रूपमा हल्का वर्षा हुन सक्ने उनले बताए।

‘बिहान–बेलुका चिसो हुन्छ। दिउँसो घाम लाग्छ। कहीँकतै बादल पनि लाग्छ,’ मौसमविद् अधिकारीले भने, ‘यो अवधिमा ठूलो पानी पर्ने सम्भावना छैन। तर, खण्डित रूपमा पानी पर्न सक्छ।’

नेपालबाट मनसुन बाहिरिइसकेको अवस्थामा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्ने र केही स्थानमा हल्का वर्षा हुन सक्ने उनको भनाइ छ।

शनिबार फूलपातीका दिन तराईका अधिकांश स्थानमा मौसम मुख्यतः सफा रहने पूर्वानुमान छ। हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्नेछ।

त्यसैगरी, दसैँको टीकाका दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना छ। देशका बाँकी भूभागमा मौसम मुख्यतः सफा रहने महाशाखाले जनाएको छ।

टीकाको दिन पनि उल्लिखित प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

समग्रमा दसैँको अवधिमा ठूलो वर्षाको सम्भावना नरहेकाले अधिकांश क्षेत्रमा चाडपर्व मनाउन र यात्रा गर्न अनुकूल मौसम रहने देखिए पनि हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्नेहरूले स्थानीय मौसमको पूर्वानुमानमा ध्यान दिनुपर्नेछ।

Facebook Comments Box
TOP
30 Shares