नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी टोपबहादुर रायमाझी आज जेलमुक्त हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आज जेलमुक्त हुने भएका छन्। ज्येष्ठ नागरिकका रूपमा कैद सजायमा २५ प्रतिशत छुट पाएपछि उनी रिहा हुन लागेका हुन्।

कारागार कार्यालय डिल्लीबजारका अनुसार ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ बमोजिम ६५ देखि ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले कैद सजायमा २५ प्रतिशत छुट पाउने व्यवस्था छ।

जिल्ला अदालत काठमाडौंले उक्त कानुनी व्यवस्थाअनुसार कैद छुट दिन आदेश दिएपछि रायमाझीको रिहाइ प्रक्रिया अघि बढेको हो। सरकारले पनि दुई महिनाअघि कारागार नियमावली संशोधन गर्दै ज्येष्ठ नागरिकसम्बन्धी ऐनअनुसार कैद छुटको सुविधा उपलब्ध गराउने प्रावधान समेटेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीलाई चार वर्ष कैद सजाय सुनाइएको थियो। उनी २०८० वैशाखदेखि कारागारमा छन्।

अदालतको आदेशअनुसार उनलाई बिहीबार (कात्तिक २६ गते) रिहा गरिने डिल्लीबजार कारागारका जेलर विक्रम पाण्डेले जानकारी दिए।

Facebook Comments Box
TOP
15 Shares