
एउटै पार्टीका सांसद, विवादको प्रकृति गम्भीर, तर कारबाही र छानबिनमा किन फरक व्यवहार ?
ढाका कुमारलाई निष्कासन, विश्वराज पोखरेललाई संरक्षण ! रास्वपाको सुशासनमा दोहोरो मापदण्डको प्रश्न

काठमाडौँ । आफूलाई सुशासन, पारदर्शिता र जवाफदेहिताको पर्यायका रूपमा प्रस्तुत गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नै सांसदहरूमाथि उठेका गम्भीर प्रश्नमा फरक–फरक मापदण्ड अपनाएको आरोपमा घेरिएको छ। मन्त्री बन्न दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक हुँदा सांसदलाई पार्टीबाटै निष्कासन गरेको रास्वपाले अहिले बिचौलिया इनाम सापकोटासँग जोडिएको संवादमा नाम आएका सांसद तथा पूर्वएआईजी विश्वराज पोखरेलमाथि भने आन्तरिक छानबिनको आवश्यकता नदेखेपछि पार्टीको सुशासनसम्बन्धी प्रतिबद्धतामाथि प्रश्न उठेको हो।
२०७९ चैतमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न दुई करोड रुपैयाँ मागेको भनिएको अडिओ सार्वजनिक भएपछि रास्वपाले तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठलाई २०७९ चैत २६ गते निलम्बन गरेको थियो। त्यसको तीन दिनपछि चैत २९ गते बसेको केन्द्रीय समिति बैठकले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको थियो। श्रेष्ठको स्थानमा विन्दवासिनी कंसाकारलाई सांसद बनाइएको थियो।
त्यतिबेला अडिओ सार्वजनिक हुनासाथ पार्टीले तत्काल कदम चालेको थियो। तर अहिले सर्वोच्च अदालतमा मुद्दाको सेटिङ र उच्च तहका व्यक्तिसँग सम्पर्क राखेको आरोपमा पक्राउ परेका बिचौलिया इनाम सापकोटाको मोबाइल संवाद तथा आर्थिक कारोबारसम्बन्धी विवरणमा सांसद विश्वराज पोखरेलको नाम जोडिँदा रास्वपाले छुट्टै छानबिन समिति गठन गर्नसमेत आवश्यक ठानेको छैन।
एउटै पार्टीका सांसद, सार्वजनिक विवाद र प्रश्न उठाउने विषय फरक भए पनि जवाफदेहिताको मापदण्ड एउटै हुनुपर्ने होइन र ? यही प्रश्न अहिले रास्वपाको राजनीतिक तथा नैतिक जवाफदेहितामाथि उठेको छ।
यसअघि गत असोज २६ गते सांसद खगेन्द्र सुनारले एक महिलासँग अपमानजनक तथा हिंसात्मक शैलीमा गालीगलौज गरेको भनिएको अडिओ सार्वजनिक भएपछि रास्वपाको केन्द्रीय अनुशासन आयोगले तत्काल छानबिन प्रक्रिया अघि बढाएको थियो। आयोगले उपप्रमुख हरिचन्द्र भट्टराईको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो।
सांसद सुनारले भने उक्त अडिओमा सुनिएको आवाज आफ्नो नभएको दाबी गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) तथा प्रविधिको दुरुपयोग गरी आफूविरुद्ध झुटो प्रचार गरिएको भन्दै लिखित इन्कारी पत्र बुझाएका छन्। छानबिनको निष्कर्ष नआएसम्म उनलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशनसमेत दिइएको छ।
उक्त अडिओ प्रकरण सुनार रास्वपामा प्रवेश गर्नुअघिको भएको बताइए पनि विवाद सार्वजनिक भएपछि पार्टीले संस्थागत रूपमा छानबिन प्रक्रिया अघि बढाएको थियो। अर्थात् आरोपको सत्यता प्रमाणित हुनुअघि नै पार्टीले छानबिन र आवश्यक निर्देशनको प्रक्रिया अपनाएको देखिन्छ। तर इनाम सापकोटा प्रकरणमा भने रास्वपाको व्यवहार फरक देखिएको छ।
सर्वोच्च अदालतमा मुद्दाको सेटिङ गर्ने तथा उच्च तहका व्यक्तिहरूसँग सम्पर्क राख्ने गरेको आरोपमा पक्राउ परेका सापकोटाको मोबाइल संवाद र आर्थिक कारोबारसम्बन्धी विवरणमा प्रधानन्यायाधीश मनोजकुमार शर्मा, सांसद तथा पूर्वएआईजी विश्वराज पोखरेल र सशस्त्र प्रहरीका एआईजी वंशी दाहालको नामसमेत उल्लेख भएको सार्वजनिक विवरणमा जनाइएको छ।
सार्वजनिक विवरणअनुसार संवादमा जनवरी, नोभेम्बर र डिसेम्बर तीन महिनाको गरी १ लाख ९८ हजार ३ सय ३३ रकम तथा कर कटाउँदा १ लाख ७४ हजार ३ सय ३३ हुने हिसाब उल्लेख भएको दाबी गरिएको छ। रकम कुन मुद्रामा हो भन्नेचाहिँ स्पष्ट छैन। अमेरिकामा रहेका सापकोटाका आफन्तको बैंक खातामा वा नेपालमा उनकी श्रीमतीको खातामा रकम जम्मा गर्ने विकल्पबारे समेत कुराकानी भएको बताइएको छ।
यस प्रकरणमा नाम जोडिएका सशस्त्र प्रहरीका एआईजी वंशी दाहाल निलम्बनपछि बर्खास्त भइसकेका छन्। तर सार्वजनिक विवरणमा नाम आएका सांसद पोखरेलमाथि रास्वपाले कुनै छुट्टै आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छैन। प्रधानन्यायाधीश शर्माको हकमा पनि सार्वजनिक रूपमा प्रश्न उठिरहेका छन्।
यद्यपि, सांसद पोखरेलले भने इनाम सापकोटासँग आफ्नो कुनै चिनजान, भेटघाट, फोन सम्पर्क, म्यासेज वा आर्थिक लेनदेन नरहेको स्पष्ट पार्दै आएका छन्। आफूमाथि लगाइएका आरोप पूर्णतः निराधार र प्रायोजित षड्यन्त्र भएको उनको दाबी छ। कसैले आफ्नो उठबस, च्याट वा आर्थिक कारोबारको प्रमाण देखाउन सके कानुनले तोकेको भन्दा कडा सजाय भोग्न तयार रहेकोसमेत उनले बताउँदै आएका छन्।
पोखरेलले आरोप अस्वीकार गर्नु र उनीमाथि लागेको आरोप प्रमाणित नहुनु एउटा पक्ष हो। तर आरोप सार्वजनिक भएपछि पार्टीले संस्थागत रूपमा त्यसको तथ्य जाँच गर्ने कि नगर्ने भन्ने प्रश्न अर्को पक्ष हो। छानबिन गर्नु दोषी ठहर गर्नु होइन। बरु निष्पक्ष छानबिनले आरोप निराधार भए सम्बन्धित सांसदलाई समेत आफ्नो पक्ष स्पष्ट पार्ने अवसर दिन्छ।
रास्वपाका सांसद तथा पार्टी सचेतक प्रकाशचन्द्र परियारले भने दुवै प्रकरणको प्रकृति फरक भएकाले पार्टीले फरक निर्णय लिएको बताएका छन्। उनका अनुसार खगेन्द्र सुनार प्रकरण महिला हिंसा, अन्तर्राष्ट्रिय महिला अधिकारसम्बन्धी कानुन, न्याय र मुक्तिसँग जोडिएको विषय भएकाले तत्काल छानबिन गर्नुपर्ने आवश्यकता महसुस गरी समिति गठन गरिएको हो।
तर विश्वराज पोखरेलको नाम जोडिएको इनाम सापकोटा प्रकरणमा सर्वोच्च अदालतबाटै छानबिन भइरहेकाले पार्टीले छुट्टै आन्तरिक छानबिन समिति गठन गर्न आवश्यक नठानेको उनको तर्क छ।
पार्टीको यो स्पष्टीकरणले उठेका प्रश्न भने पूर्ण रूपमा निराकरण गर्दैन। सर्वोच्च अदालतबाट हुने अनुसन्धान र राजनीतिक दलले आफ्ना सांसदको आचरण तथा पार्टीको प्रतिष्ठासम्बन्धमा गर्ने आन्तरिक परीक्षण फरक विषय हुन्। एउटा निकायको अनुसन्धान भइरहेको आधारमा पार्टीले आफ्नै जवाफदेहिताको दायित्वबाट पन्छिन मिल्छ कि मिल्दैन भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ।
ढाकाकुमार श्रेष्ठको प्रकरणमा पार्टीले आरोप सार्वजनिक हुनासाथ निलम्बनदेखि निष्कासनसम्मको निर्णय लिन सक्ने अवस्था थियो भने अहिले सांसद पोखरेलको नाम जोडिएको प्रकरणमा कम्तीमा तथ्यगत स्पष्टीकरण र निष्पक्ष आन्तरिक परीक्षणको पहल किन भएन ? पार्टीले यस प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने देखिन्छ।
रास्वपाको सुशासनको दाबी केवल भाषण, नारा र राजनीतिक प्रचारमा सीमित हुने कि आफ्नै सांसदको हकमा पनि समान रूपमा लागू हुने ? प्रश्न यही हो।
आरोप लाग्दैमा कसैलाई दोषी ठहर गर्न मिल्दैन। तर आफ्ना सांसदलाई आरोप लाग्दा पार्टीले कसैका हकमा तत्काल छानबिन गर्ने र कसैका हकमा बाह्य निकायको अनुसन्धान देखाएर मौन बस्ने हो भने त्यसले समानताको सिद्धान्तमाथि नै प्रश्न खडा गर्छ।
सुशासनको वास्तविक परीक्षा विपक्षीमाथि प्रश्न उठाउँदा होइन, आफ्नै मान्छेमाथि प्रश्न उठ्दा पार्टीले कस्तो व्यवहार गर्छ भन्नेमा हुन्छ। ढाकाकुमार श्रेष्ठमाथि अपनाइएको मापदण्ड र विश्वराज पोखरेलको हकमा अपनाइएको व्यवहारबीचको अन्तरबारे रास्वपाले जनतालाई चित्तबुझ्दो जवाफ दिनुपर्ने भएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
आज कार्तिक २८ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
-
मिथिलामा छठको उल्लास, आज श्रद्धा र भक्तिपूर्वक खरना विधि गरिँदै
-
सशस्त्रमा एक एआईजीको पद रिक्त, बढुवाको प्रतिस्पर्धामा सुरेश, दीपेन्द्र र पुरुषोत्तम !
-
छठको भोलिपल्ट पनि सार्वजनिक बिदा,निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रिट सुनुवाइ फेरि अन्योलमा
-
पर्साको धोबियाटोला–सबैठवा नाकाबाट प्रहरीकै संरक्षणमा ‘धुवाँधार’ तस्करी ! घुमुवामार्फत असुलीदेखि ‘लाइन’ व्यवस्थापनसम्मको आरोप
आज कार्तिक २७ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
2.1kViews 15 Shares Share on Facebook Share on Twitter मेष कार्यक्षेत्रमा पुरानो समस्या सुल्झिनाले विभिन्न अवसरहरु प्राप्त हुनेछन्। पुरानो कारोबारलाई…





