
प्रधानमन्त्रीको सचिवालयमा जिम्मेवारी हेरफेर, पाँच संयोजक र पाँच उपसंयोजक नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आफ्नो सचिवालयका सदस्यहरूको जिम्मेवारी हेरफेर गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सहसचिवसरहका सचिवालय सदस्यहरूको कार्यक्षेत्र पुनःनिर्धारण गर्दै पाँच जनालाई विभिन्न क्षेत्रको संयोजक र पाँच जनालाई उपसंयोजकको जिम्मेवारी दिइएको हो।
यसअघि सचिवालयमा संयोजक र उपसंयोजकको व्यवस्था थिएन। नयाँ व्यवस्थाअनुसार सञ्जिव पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय संयोजकको जिम्मेवारी दिइएको छ। यसअघि उनी विकास परियोजनासम्बन्धी काम हेर्दै आएका थिए। त्यसैगरी कार्यक्रम तथा भ्रमण संयोजकको जिम्मेवारीमा रहेका सन्तोष गिरीलाई अन्तरनिकाय समन्वय संयोजकको थप जिम्मेवारी दिइएको छ।
विशाल अधिकारीलाई सरकारी मामिला तथा योजना समन्वय संयोजकको जिम्मेवारी दिइएको छ। यसअघि उपसचिवसरहको सेवा सुविधा पाउने गरी सचिवालय सदस्यका रूपमा कार्यरत अधिकारीलाई सहसचिवसरहको सचिवालय सदस्यमा बढुवा गर्दै उक्त जिम्मेवारी दिइएको हो।
त्यस्तै, यसअघि प्रेस तथा अनुसन्धान विज्ञका रूपमा कार्यरत दिपा दाहाललाई मिडिया व्यवस्थापन संयोजक बनाइएको छ। विश्व राईलाई सामाजिक विकास समन्वय संयोजकको जिम्मेवारी दिइएको छ। यसअघि उनी सचिवालयमा सामाजिक विकाससम्बन्धी विषय हेर्दै आएका थिए।
नयाँ व्यवस्थाअनुसार पाँच जनालाई उपसचिवसरहको सेवा सुविधा पाउने गरी उपसंयोजकको जिम्मेवारी दिइएको छ। सुमन गौतमलाई नागरिक उड्डयन समन्वय, रविकिरण अधिकारीलाई सामाजिक विकास समन्वय, प्रकृति ढकाललाई स्वास्थ्य समन्वय, विनय शाक्यलाई संस्कृति तथा सम्पदा समन्वय र दीपकप्रसाद ओलीलाई नीति मस्यौदा अध्ययन उपसंयोजकको जिम्मेवारी तोकिएको छ।
यसैबीच, यसअघि सूचना प्रविधि विज्ञका रूपमा सहसचिवसरहको सेवा सुविधा पाउने गरी नियुक्त माधव खनाललाई भने सचिवालयबाट हटाइएको छ। उनको नाम प्रधानमन्त्रीको सचिवालय सदस्यहरूको सूचीमा समावेश छैन।
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार हालसम्मको कार्यसम्पादन समीक्षा गरी जिम्मेवारी हेरफेर गरिएको हो। यद्यपि प्रधानमन्त्रीका सल्लाहकारहरूको जिम्मेवारी भने यथावत् राखिएको छ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकारमा कुमार व्यञ्जनकार (बेन) नै कायम छन्। मन्त्रीसरहको हैसियत भए पनि उनी अवैतनिक रूपमा कार्यरत छन्। राजनीतिक सल्लाहकारमा असिम शाह यथावत् छन् भने मन्त्रीसरहको स्वास्थ्य सल्लाहकारमा प्राध्यापक डा. जगदीशप्रसाद अग्रवालले निरन्तरता पाएका छन्। उनी पनि अवैतनिक रूपमा कार्यरत छन्।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
नेपाल प्रहरीमा एकैपटक ६ एआईजी पद रिक्त हुँदै, बढुवाका लागि दौडधुप सुरु
-
मुगुमा हाइलक्स गाडी ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु, दुई घाइते
-
नियुक्तिपत्र नबुझेका दानबहादुरबारे राससकै समाचारमाथि प्रश्न, सरकारकै सूचनाले गरायो मिडिया ट्रायलको आशंका
-
आज कार्तिक ३० गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
दानबहादुर कार्कीले सुरक्षा सल्लाहकारको नियुक्तिपत्र बुझेको समाचारमै प्रश्न, राससको समाचार भ्रामक भएको कार्की निकट स्रोतको दाबी
जनकपुरधाम–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने, ६०४ किलोमिटरको दूरी रेलबाट जोडिँदै
१ दिन अगाडि
1.8kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौँ । भारतको भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित…





