
बीएमएस प्रकरणमा सीआईबीमाथि अदालतको कडा अंकुश, १५ दिनको अन्तिम म्याद सकिँदै; अभियोग दर्ता नगरे चार आरोपी रिहा गर्नुपर्ने

काठमाडौं । मलेसियामा रोजगारीका लागि जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण तथा बायोमेडिकल प्रणाली (बीएमएस) का नाममा उठाइएको रकम दुरुपयोग र संगठित अपराधसम्बन्धी कसुरको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) माथि अदालतले कानुनको सीमा स्मरण गराएको छ। लामो समयदेखि हिरासतमा राखिएका चार आरोपितविरुद्ध तोकिएको अन्तिम म्यादभित्र अभियोगपत्र दर्ता गर्न नसके उनीहरूलाई रिहा गर्नुपर्ने अवस्था आएको छ।
जिल्ला अदालत काठमाडौंले कैलाश खड्का, रवीन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारीविरुद्ध अनुसन्धानका लागि दिएको १५ दिनको अन्तिम म्याद मंगलबार सकिँदै छ। अदालतले यसअघि नै थप म्याद नदिने स्पष्ट संकेत गरिसकेको छ। त्यसैले अब सीआईबीका सामु कानुनअनुसार अभियोगपत्र दर्ता गर्ने वा आरोपितलाई हिरासतमुक्त गर्ने दुईवटा विकल्प मात्रै बाँकी देखिएका छन्।
गत असोज २९ गतेदेखि हिरासतमा रहेका उनीहरूमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले कात्तिक २३ गते अभियोगपत्र दर्ता प्रयोजनका लागि अन्तिम पटक भन्दै १५ दिनको म्याद दिएको थियो। उक्त म्याद २४ गतेबाट गणना गर्दा मंसिर ८ गतेसम्म पुग्ने कानुनी व्याख्या गरिएको छ।
जिल्ला अदालतका न्यायाधीश राजेन्द्र भण्डारीको इजलासले सोमबार सीआईबीलाई अघिल्लो आदेश कार्यान्वयन गर्न पुनः स्मरण गराएको थियो। अदालतले अब थप म्याद नदिने स्पष्ट गर्दै तोकिएको समयभित्र अभियोगपत्र दर्ता गर्न वा आरोपितलाई रिहा गर्नुपर्ने सन्देश दिएको हो।
अदालतको आदेशलाई बेवास्ता गरेर अनुसन्धानका नाममा अनिश्चितकालसम्म व्यक्तिलाई हिरासतमा राख्न पाइँदैन भन्ने कानुनी मान्यतालाई यस घटनाले फेरि चर्चामा ल्याएको छ। अनुसन्धान गर्ने अधिकार प्रहरीलाई भए पनि त्यो अधिकार कानुन र अदालतको आदेशभन्दा माथि हुन सक्दैन।
सोमबारको बहसमा सहभागी कानुन व्यवसायीहरूले पनि अदालतको अन्तिम आदेश पालना नभए न्यायिक प्रक्रियाकै अवहेलना हुने विषय उठाएका थिए। उनीहरूले एउटै कसुरमा कसैलाई लामो समय हिरासतमा राख्ने र पछि पक्राउ परेकालाई पनि थप म्याद दिँदै जाने हो भने अनुसन्धानको वैधानिकता र समानताको प्रश्न उठ्ने जिकिर गरेका थिए।
खड्का पक्षका कानुन व्यवसायीले अदालतले दिएको आदेश कार्यान्वयन नगर्ने हो भने त्यसको जिम्मेवारी सम्बन्धित अनुसन्धान अधिकारीले लिनुपर्ने तर्कसमेत गरेका थिए। उनीहरूको भनाइ थियो, ‘यदि अरूलाई थुन्ने हो भने पहिलेका चार जनालाई छाड्नुपर्यो।’
अदालतले पनि अघिल्लो आदेश कार्यान्वयन हुनुपर्ने स्पष्ट सन्देश दिएको छ। आदेशमा भनिएको छ, ‘पहिले अदालतको यसअघिको आदेश पालना हुनुपर्यो। योभन्दा अघि जारी भएको आदेशभन्दा बाहेक अब म्याद थपका लागि कुनै आदेश हुँदैन।’
यसअघि चार जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको सीआईबीले गत साता भने यही प्रकरणमा दुई पूर्वश्रममन्त्री, पूर्वसचिव, सहसचिवलगायत आधा दर्जन सरकारी कर्मचारीलाई पक्राउ गरेको छ। त्यसपछि अनुसन्धानको दायरा विस्तार भएको देखिए पनि पुराना आरोपितमाथिको कानुनी प्रक्रिया भने अदालतले तोकेको समयसीमाभित्र टुंग्याउनुपर्ने दबाबमा ब्युरो परेको छ।
बीएमएसका लागि प्रतिव्यक्ति १०० मलेसियन रिंगिट उठाइएको र त्यसबाट अर्बौं रुपैयाँ बराबरको विदेशी मुद्रा अपचलन भएको आरोप अनुसन्धानको केन्द्रमा छ। यस प्रकरणमा तत्कालीन श्रमसचिव तथा पछि मुख्यसचिव बनेका एकनारायण अर्यालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको चर्चा चलेको थियो। उनी भारतमा पक्राउ परेको भन्दै प्रचारसमेत गरिएको थियो। तर पक्राउ परेको भन्ने खबर पुष्टि हुन सकेन। यस्ता अपुष्ट सूचनाले अनुसन्धानको विश्वसनीयतामाथि नै प्रश्न उठाउने अवस्था सिर्जना गरेको छ।
अनुसन्धानका नाममा पक्राउ पुर्जी जारी भएको चर्चा, पक्राउ परेको अपुष्ट प्रचार र त्यसपछि खण्डन हुने घटनाक्रमले राज्यका जिम्मेवार निकायको सूचना सम्प्रेषण शैलीमाथि पनि प्रश्न उठाएको छ। कुनै व्यक्तिविरुद्ध अनुसन्धान भइरहेको छ भन्दैमा उसलाई दोषी ठहर गर्न मिल्दैन। पक्राउ, अनुसन्धान र अभियोजनका प्रत्येक चरण कानुनसम्मत र प्रमाणमा आधारित हुनुपर्छ।
यसबीच मुख्य आरोपित भनिएका कैलाश खड्का अस्पतालमा उपचाररत रहेको बताइएको छ। उच्च रक्तचाप र पत्थरीसम्बन्धी समस्याका कारण उनी अस्पतालमा रहेको स्रोतको भनाइ छ। पूर्वश्रममन्त्री रामेश्वर राय यादवसमेत मिर्गौलालगायत विभिन्न स्वास्थ्य समस्याबाट पीडित रहेको बताइएको छ। यद्यपि, स्वास्थ्य अवस्था र कानुनी हैसियत फरक विषय हुन्। उपचारको अधिकार सुनिश्चित गर्दै अनुसन्धान र न्यायिक प्रक्रिया कानुनअनुसार अघि बढाउनुपर्ने हुन्छ।
अब मुख्य प्रश्न सीआईबीले अदालतको आदेशको पालना कसरी गर्छ भन्ने हो। नयाँ व्यक्तिहरू पक्राउ परे भन्दैमा पुराना आरोपितलाई अनिश्चितकालसम्म हिरासतमा राख्न पाइँदैन। कसुरमा संलग्न भएको प्रमाण छ भने समयमै अभियोजन गर्नुपर्छ, छैन भने कानुनबमोजिम रिहा गर्नुपर्छ।
ठूला व्यक्तिमाथि अनुसन्धान भइरहेको देखाएर प्रहरीको कार्यसम्पादनलाई स्वतः सही मान्न सकिँदैन। न त राजनीतिक दबाब, सार्वजनिक प्रचार वा अनुसन्धानको नाममा कानुनी प्रक्रियालाई लम्ब्याउन मिल्छ। अदालतको आदेश कार्यान्वयन गर्नु प्रहरीको विकल्प होइन, अनिवार्य दायित्व हो।
बीएमएस प्रकरणमा दोषी जोसुकै भए पनि प्रमाणका आधारमा कानुनी कठघरामा उभिनुपर्छ। तर अनुसन्धानको नाममा निर्दोषलाई थुन्ने, प्रमाण संकलनमा ढिलाइ गर्ने र अदालतको आदेशलाई बेवास्ता गर्ने छुट कसैलाई छैन। अब सीआईबीले आफ्नो अनुसन्धानको विश्वसनीयता प्रमाणित गर्ने कि कानुनी प्रश्नको घेरामा पर्ने भन्ने कुरा उसले चाल्ने आगामी कदमले निर्धारण गर्नेछ।
कानुन सबैका लागि समान हो। अनुसन्धान गर्ने प्रहरीका लागि पनि, अनुसन्धानको घेरामा परेका मन्त्री र कर्मचारीका लागि पनि।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
बाँकेमा कुटपिट गर्ने समूहलाई नियन्त्रणमा लिन प्रहरीले चलायो ८ राउण्ड हवाई फायर, चार प्रहरी घाइते
-
प्रहरी नेतृत्वमा सरकारको मनपरी कि कानुनी शासनको परीक्षा ? भरोसा सम्मानित अदालत सर्वोच्चमा
-
सर्वोच्चको म्यादसमेत नबुझ्ने आईजीपी केसी, कानुनी शासनमाथि नै चुनौती !
-
वरिष्ठता, कार्यसम्पादन र व्यावसायिक क्षमताको परीक्षा; आफ्नाभन्दा योग्यलाई प्राथमिकता दिने आईजीपी केसीको तयारी
-
आज मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
वडा प्रहरी कार्यालय श्रिपुरको ईन्सपेक्टर मगरको घुमुवा रुपेश यादवको आर्थिक आतंक;मुद्दामा असई कुशवाहाको बिगबिगी
१६ घण्टा अगाडि
2.0kViews 45 Shares Share on Facebook Share on Twitter मधेस प्रदेस । पर्साको सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि खटिनुपर्ने नेपाल…





