बालेन–स्वर्णिम दूरी बढ्दै ? निजी क्षेत्रसँग प्रधानमन्त्रीको निरन्तर संवाद, अर्थमन्त्री बैठकबाट बाहिर

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले पछिल्लो समय निजी क्षेत्रका प्रतिनिधिहरूसँग सक्रिय छलफल बढाएका छन् । तर, यस्ता अधिकांश छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी नभएपछि सरकारभित्रको समन्वय र सम्बन्धबारे प्रश्न उठ्न थालेको छ ।

प्रधानमन्त्री शाहले नेपाल उद्योग वाणिज्य महासंघ, बैंकिङ क्षेत्र, पुँजीबजारका सरोकारवाला तथा विभिन्न निजी क्षेत्रका प्रतिनिधिसँग छुट्टाछुट्टै भेटवार्ता गरिरहेका छन् । तर, निजी क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्रीसँगको छलफलमा अर्थमन्त्रीको खोजी गरे पनि उनी कुनै पनि बैठकमा उपस्थित नभएको बताइएको छ ।

सोमबार प्रधानमन्त्री शाहले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, ब्रोकर, संस्थागत लगानीकर्ता तथा व्यक्तिगत लगानीकर्ताका प्रतिनिधिसँग पुँजीबजारको अवस्थाबारे छलफल गरेका थिए । उक्त छलफलमा पनि अर्थमन्त्री डा. वाग्ले सहभागी थिएनन् ।

छलफलका क्रममा प्रधानमन्त्रीले लगानीकर्ताको मनोबल कमजोर हुनुको कारणबारे जानकारी लिएका थिए । करिब एक घण्टा चलेको बैठकमा प्रधानमन्त्रीले बाहिरी हल्लाको आधारमा लगानीसम्बन्धी निर्णय नगर्न र बजारप्रति सकारात्मक बन्न आग्रह गरेको सहभागीहरूले बताएका छन् ।

प्रधानमन्त्री शाहले सरकार निजी क्षेत्रप्रति नकारात्मक नरहेको भन्दै पुँजीबजारको विकास र विस्तारका लागि सरकार सचेत रहेको धारणा राखेको बताइएको छ । पुँजीबजारले रोजगारी सिर्जना र राजस्व वृद्धिमा योगदान दिनुपर्नेमा पनि प्रधानमन्त्रीले जोड दिएको सहभागीहरूको भनाइ छ ।

प्रधानमन्त्री बनेपछि निरन्तर ओरालो लागेको सेयर बजार पछिल्लो समय नेप्से परिसूचक २५ सयको आसपास पुगेको थियो । प्रधानमन्त्रीसँगको छलफलपछि बजारमा सकारात्मक प्रभाव देखिएको छ भने सोमबार नेप्से परिसूचक ४१ अंकले बढेको छ ।

बैठकमा लगानीकर्ताको मनोबल बढाउने, बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गर्ने, करसम्बन्धी अस्पष्टता हटाउने, घाटा समायोजनपछि मात्र कर लिने व्यवस्था मिलाउने तथा ब्रोकरमार्फत मार्जिन लेन्डिङ सञ्चालनका लागि आवश्यक नियम बनाउन सुझाव दिइएको थियो ।

तर, प्रधानमन्त्रीले निजी क्षेत्रका प्रतिनिधि, बैंकका प्रमुख कार्यकारी अधिकृत र पुँजीबजारका सरोकारवालासँग छलफल गर्दा अर्थमन्त्रीलाई सहभागी नगराएपछि राजनीतिक वृत्तमा यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

विशेषगरी रास्वपाभित्र सभापतिपछि दोस्रो वरीयतामा रहेका डा. वाग्लेलाई प्रधानमन्त्री शाहले अर्थसम्बन्धी विषयमा किन प्रत्यक्ष सहभागी गराइरहेका छैनन् भन्ने प्रश्न उठेको छ । यसलाई कतिपयले प्रधानमन्त्री र अर्थमन्त्रीबीचको विश्वासको दूरीका रूपमा व्याख्या गरेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री शाहले अर्थमन्त्रीले ल्याएको बजेटका केही विषयमा असन्तुष्टि जनाएका छन् । सरकारी उद्योग सञ्चालन, कर नीति तथा केही निर्णयले सरकारको लोकप्रियतामा असर परेको प्रधानमन्त्री निकट पक्षको बुझाइ रहेको बताइएको छ ।

यसैबीच, प्रधानमन्त्रीको व्यवहारबाट असन्तुष्ट बनेका अर्थमन्त्री डा. वाग्लेले प्रत्यक्ष रूपमा विरोध नगरे पनि पार्टी सभापति रवि लामिछानेसँग आफ्ना धारणा राखिरहेको स्रोतको दाबी छ ।

डा. वाग्ले र सभापति लामिछानेबीच पछिल्लो समय भएको भेटवार्तालाई पनि राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । यद्यपि प्रधानमन्त्री, अर्थमन्त्री र रास्वपाले यस विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीच देखिएको दूरीले सरकारको आर्थिक नीति र पार्टीभित्रको शक्ति सन्तुलनबारे नयाँ बहस सुरु भएको छ ।

Facebook Comments Box
TOP
429 Shares