

जरिवाना होइन, सडक सुरक्षाको अभियान : ट्राफिक प्रहरीको बढ्दो सक्रियता
काठमाडौं । मुगुका गणेश नेपालीले मोटरसाइकलको ह्विल लकपछि आत्मदाह गरेसँगै यात्रुमाथि हुने महानगर प्रहरीको कारबाही शैलीमाथि चौतर्फी प्रश्न उठिरहेका बेला काठमाडौं उपत्यका ट्राफिक प्रहरी भने सवारी नियम उल्लंघनविरुद्ध थप आक्रामक बनेको देखिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले पछिल्ला महिनामा ट्राफिक नियम उल्लंघन गर्नेविरुद्धको कारबाही उल्लेख्य रूपमा बढेको देखाएको छ। ट्राफिक संकेत उल्लंघन, गलत स्थानमा पार्किङ, गलत दिशाबाट सवारी चलाउने, वान–वे उल्लंघन, तीव्र गति, मापसे तथा लापरबाहीपूर्ण सवारी सञ्चालनविरुद्ध प्रहरीको सक्रियता बढेको तथ्यांकले देखाउँछ।
तथ्यांकअनुसार गत चैतमा ट्राफिक संकेत उल्लंघन गर्ने ३ हजार २१४ जनामाथि कारबाही भएको थियो। वैशाखमा यो संख्या दोब्बर बढेर ६ हजार ४५५ पुगेको थियो। जेठमा ५ हजार ९३२ र असारमा ४ हजार ७३७ जनालाई यही कसुरमा कारबाही गरिएको छ।
त्यस्तै, गलत स्थानमा सवारीसाधन पार्किङ गर्नेविरुद्ध पनि कारबाही बढेको छ। चैतमा ६ हजार ८२५ जनालाई कारबाही गरिएकोमा वैशाखमा ११ हजार २६, जेठमा ८ हजार ६९३ र असारमा ७ हजार ८७१ जनामाथि कारबाही भएको छ।
गलत स्थानबाट सवारी मोड्ने चालकविरुद्ध पनि ट्राफिक प्रहरी कडा देखिएको छ। चैतमा १ हजार ८५८ जनामाथि कारबाही भएकोमा वैशाखमा ६ हजार १६२, जेठमा ८ हजार ४९ र असारमा ६ हजार ५४१ जनालाई कारबाही गरिएको छ।
दुर्घटना न्यूनीकरणका लागि कारबाही बढाइएको ट्राफिक प्रहरीको दाबी
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले चालकको लापरबाहीका कारण दुर्घटना बढेपछि कारबाही प्रक्रिया प्रभावकारी बनाइएको बताए।
उनका अनुसार उपत्यकामा दैनिक कम्तीमा एक जनाको सवारी दुर्घटनामा मृत्यु हुने अवस्था देखिएको छ। अधिकांश दुर्घटनामा चालकको लापरबाही मुख्य कारण रहेको प्रहरीको निष्कर्ष छ।
“चालक मात्रै सचेत हुँदा पनि दुर्घटनाको जोखिम धेरै घटाउन सकिन्छ। त्यसैले नियम उल्लंघन गर्नेविरुद्ध कारबाही बढाइएको हो,” एसएसपी काफ्लेले बताए।
मापसे कारबाही पनि तीव्र
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउनेविरुद्ध पनि अभियान तीव्र बनाएको छ।
तथ्यांकअनुसार चैतमा २ हजार ९९१ जनालाई मापसे कसुरमा कारबाही गरिएको थियो। वैशाखमा यो संख्या ३ हजार १४६, जेठमा ३ हजार ६५७ र असारमा २ हजार ७२४ पुगेको छ।
नेपाल प्रहरीको तथ्यांकअनुसार देशभर दैनिक औसत १०३ वटा सवारी दुर्घटना हुने गरेका छन्। ती दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु हुने गरेको छ। कुल दुर्घटनामध्ये करिब ५५.८५ प्रतिशत दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको प्रहरीको भनाइ छ।
काठमाडौं उपत्यकामा चालकको लापरबाही र मापसेका कारण हुने दुर्घटनाको दर अझ बढी रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
लापरबाहीपूर्ण सवारी चलाउनेमाथि पनि निगरानी
ट्राफिक प्रहरीले बत्ती नबाली सवारी चलाउने, विनानम्बर प्लेटका सवारी, क्षमताभन्दा बढी भार बोक्ने, हेल्मेट तथा सिटबेल्ट नलगाउने, लाइसेन्स नबोक्ने, बढी भाडा असुल्ने र यात्रु लिन अस्वीकार गर्नेविरुद्ध पनि कारबाही बढाएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार यस्ता कसुरमा पहिलोपटक ५ सय रुपैयाँ, दोस्रोपटक १ हजार रुपैयाँ र तेस्रोपटक वा सोभन्दा बढी भए १ हजार ५ सय रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ।
गर्मी महिनामा सबैभन्दा धेरै कारबाही
ट्राफिक प्रहरीको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा सबैभन्दा धेरै कारबाही साउन महिनामा भएको छ। उक्त महिनामा ९५ हजार ४८० भन्दा बढी सवारीसाधनमाथि कारबाही भएको थियो।
त्यसपछि असारमा ६३ हजार ९९, भदौमा ६२ हजार ५७८ र वैशाखमा ६२ हजार ५०० भन्दा बढी कारबाही भएको तथ्यांक छ।
वैशाखमा मात्रै ट्राफिक कारबाहीबाट ५ करोड २४ लाख ५९ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको थियो भने जेठमा ५ करोड १५ लाख ७५ हजार रुपैयाँभन्दा बढी राजस्व उठेको थियो।
ट्राफिक कारबाही कि सुधार अभियान ?
मोटरसाइकल ह्विल लकपछि भएको आत्मदाह घटनाले ट्राफिक कारबाहीको मानवीय पक्षमाथि बहस सिर्जना गरेको छ। तर, ट्राफिक प्रहरी भने दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम गर्न कडाइ आवश्यक रहेको दाबी गर्दै आएको छ।
अबको चुनौती भनेको नियम उल्लंघन नियन्त्रणसँगै कारबाही प्रक्रिया नागरिकमैत्री, पारदर्शी र संवेदनशील बनाउनु रहेको देखिन्छ। सडक सुरक्षा र नागरिक अधिकारबीच सन्तुलन कायम गर्न ट्राफिक व्यवस्थापन अझ प्रभावकारी बनाउनुपर्ने आवाज उठिरहेको छ।
समाज
थप सामाग्री-
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
-
माकलबारीमा युवतीद्वारा आत्मदाह प्रयास, अवस्था गम्भीर
-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
३ दिन अगाडि
2.7kViews 424 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम…





