कीर्तिपुरमा कारभित्र जलेर औषधि व्यवसायीको मृत्यु, भक्तपुर र गोंगबुमा हत्या घटनामा आरोपी पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा भएका छुट्टाछुट्टै घटनामा एक औषधि व्यवसायीसहित तीन जनाको मृत्यु भएको छ। कीर्तिपुरमा कारभित्र जलेर एक वृद्धको मृत्यु भएको छ भने भक्तपुर र गोंगबुमा भएको हत्या घटनामा प्रहरीले आरोपीहरूलाई नियन्त्रणमा लिएको छ।

कीर्तिपुरमा कारभित्र जलेर औषधि व्यवसायीको मृत्यु

कीर्तिपुरको चाँदनी चोकस्थित खाली जग्गामा पार्किङ गरिएको कारभित्र जलेर औषधि व्यवसायी सुरेशचन्द्र श्रेष्ठको मृत्यु भएको छ।

काठमाडौंको नरदेवी स्थायी घर भएका ७० वर्षीय श्रेष्ठ मंगलबार दिउँसो बा.५च ३०३८ नम्बरको कारभित्र जलेको अवस्थामा मृत फेला परेका हुन्। उनी पछिल्लो समय कीर्तिपुरस्थित ग्रिन उड भिल्लामा बस्दै आएका थिए।

स्थानीय र प्रहरीले कारमा लागेको आगो नियन्त्रणमा लिए पनि श्रेष्ठलाई उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ। आगलागीबाट कार पूर्ण रूपमा जलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। मृतक श्रेष्ठको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

परिवारका अनुसार पछिल्ला वर्षहरूमा उनको औषधि व्यवसाय कमजोर हुँदै गएको थियो।

भक्तपुरको घ्याम्पेडाँडामा युवकको हत्या, १८ जनामाथि अनुसन्धान

भक्तपुरको घ्याम्पेडाँडामा एक युवकको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले १८ जनाविरुद्ध अनुसन्धान अघि बढाएको छ।

आइतबार राति घ्याम्पेडाँडास्थित थ्री इडियट्स गेस्टहाउसमा भएको विवादका क्रममा बर्दिया घर भई सल्लाघारी बस्दै आएका राज कार्कीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी दीपक कार्कीका अनुसार सामान्य भनाभनबाट सुरु भएको विवाद पछि कुटाकुटमा परिणत भएको थियो। झगडा बढेपछि घटनास्थलमा ४०–५० जना जम्मा भएका थिए।

घटनामा प्रत्यक्ष संलग्न देखिएकाहरूलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। उक्त घटना विश्वकप फुटबलको फाइनल खेल भइरहेका बेला भएको थियो।

गोंगबुमा पैसा चोरीको रिसमा युवतीको हत्या

काठमाडौंको गोंगबुस्थित मित्रनगरमा एक युवतीको हत्या भएको छ। प्रहरीले हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–७ घर भई हाल काठमाडौंको माछापोखरी बस्ने २५ वर्षीया निशा सुनारको गत ३२ असारमा माउन्टेन एक्सेल्सिभा होटलमा हत्या भएको प्रहरीले जनाएको छ।

हत्यामा संलग्न आरोपमा दैलेख डुंगेश्वर गाउँपालिका–६ का २७ वर्षीय रमेश बुढा र जुम्लाको चन्दननाथ नगरपालिका–२ का ३८ वर्षीय दानबहादुर शाही पक्राउ परेका छन्।

प्रहरी अनुसन्धानअनुसार रमेश र निशा सहमतिमै होटल पुगेका थिए। रमेश शौचालय गएको बेला निशाले उनको झोलामा रहेको करिब एक लाख रुपैयाँ लिएर भागेको खुलेको छ।

पछि रमेशले सडकमा खोजी गरी निशालाई भेटेपछि पैसा फिर्ता माग्दै पुनः होटल लगेका थिए। होटलमा विवाद हुँदा बियरको बोतल प्रहार गरी निशाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले तीनवटै घटनामा थप अनुसन्धान जारी राखेको छ।

Facebook Comments Box
TOP
356 Shares