चिनियाँ नागरिक छुटाइदिने भन्दै ७२ लाखको ‘डिल’, ठगी आरोपमा पूर्व एसएसपी र कलाकारसहित तीन जना पक्राउ

काठमाडौं । अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै ठगी गरेको आरोपमा सशस्त्र प्रहरी बल (एपीएफ) का पूर्व वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) र एक चर्चित कलाकारसहित तीन जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–८ सिरिसे निवासी ३८ वर्षीय विक्रमबहादुर थापा, नवलपरासी पश्चिमको सुनवल नगरपालिका–७ निवासी ५९ वर्षीय गोपालबहादुर गुरुङ र सर्लाहीको लालबन्दी नगरपालिका–५ निवासी ५२ वर्षीय नारदप्रसाद खतिवडा रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका गुरुङ सशस्त्र प्रहरी बलका पूर्व एसएसपी हुन् भने खतिवडा कलाकारका रूपमा परिचित व्यक्ति हुन् ।

उनीहरूले अध्यागमन विभागको हिरासतमा रहेका ९ जना चिनियाँ नागरिकलाई पहुँच प्रयोग गरी छुटाइदिने भन्दै पीडित पक्षसँग ७२ लाख रुपैयाँको रकम मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सोही क्रममा उनीहरूले ९ लाख रुपैयाँ लिएको आरोप छ ।

ठगीको सूचना पाएपछि अपराध अनुसन्धान कार्यालयले अनुसन्धान अघि बढाउँदै तीनै जनालाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
TOP
165 Shares