

नेपाल इन्जिनियरिङ कलेजमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर(तस्बिरहरु)
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (एनईसी) मा अध्ययनरत विद्यार्थी, प्राध्यापक (फ्याकल्टी) तथा कर्मचारीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को प्राविधिक तथा चिकित्सक टोलीले कलेज परिसरमै स्वास्थ्य शिविर सञ्चालन गरी सयौं विद्यार्थी, फ्याकल्टी तथा कर्मचारीलाई स्वास्थ्य सेवा प्रदान गरेको हो ।
कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीले इन्जिनियरिङ अध्ययनका लागि उत्कृष्ट शैक्षिक वातावरणसँगै विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताउँदै त्यसैलाई मध्यनजर गर्दै केएमसीसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले स्वस्थ जनशक्तिबाट मात्रै गुणस्तरीय शिक्षण–सिकाइ सम्भव हुने भएकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो ।
शिविरमा नाक, कान तथा घाँटी (ईएनटी), आँखा, दन्त, नसा तथा हाडजोर्नी र जनरल मेडिसिनका विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरेका थिए । साथै भिडियो एक्स–रे, इसिजी (ईसीजी) तथा प्याथोलोजी सेवासमेत उपलब्ध गराइएको थियो । स्वास्थ्य परीक्षणसँगै आवश्यक स्वास्थ्य परामर्श पनि प्रदान गरिएको थियो ।
शिविरमा कलेजका सबै विभागका विद्यार्थी, फ्याकल्टी तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । स्वास्थ्य परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका व्यक्तिहरूलाई काठमाडौं मेडिकल कलेजमा उपचार गराउँदा विभिन्न सेवामा विशेष छुट उपलब्ध गराइने केएमसीले जनाएको छ ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले विद्यार्थी तथा कर्मचारीहरूको स्वास्थ्य र कल्याणलाई प्राथमिकतामा राख्दै समय–समयमा यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । केही समयअघि मात्रै कलेजले निःशुल्क आँखा परीक्षण शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक आयोजना गरेको थियो ।
विद्यार्थी, फ्याकल्टी तथा कर्मचारीलाई आकस्मिक स्वास्थ्य समस्या पर्दा तत्काल प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कलेजले हेल्थ डेस्क समेत स्थापना गरेको छ । कलेजले शैक्षिक उत्कृष्टतासँगै सुरक्षित, स्वस्थ र सहयोगी शैक्षिक वातावरण निर्माणलाई आफ्नो प्राथमिकताका रूपमा अघि बढाउँदै आएको जनाएको छ ।





समाज
थप सामाग्री-
कपिलवस्तुमा २,३१४ थान पुरातात्त्विक सिक्का बरामद, संग्रहालयलाई हस्तान्तरण
-
ट्राफिक नियन्त्रण तालिमको १५६औँ समूह सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थीलाई एसएसपी सुरेश काफ्लेद्वारा प्रमाणपत्र वितरण
-
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
-
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
-
माकलबारीमा युवतीद्वारा आत्मदाह प्रयास, अवस्था गम्भीर
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.5kViews 474 Shares Share on Facebook Share on Twitter मेष- आज कार्य क्षेत्रमा निकै जिम्मेवारीका साथ काम गर्नुपर्ने दिन छ ।…





