लागुऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरी सक्रिय, एक वर्षमा ४०९ पक्राउ

कञ्चनपुर । समाजमा बढ्दो लागुऔषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रण र अदालतका फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले सक्रियता बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा लागुऔषधसम्बन्धी २३१ मुद्दा दर्ता भएका छन्। उक्त अवधिमा २० महिला र ३८९ पुरुष गरी ४०९ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले दिनहुँजसो लागुऔषधसहित व्यक्तिहरू पक्राउ परिरहेको बताउँदै कारबाहीसँगै सचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेको जानकारी दिए।

उनका अनुसार कञ्चनपुर र कैलालीमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको देखिएको छ। “प्रहरीका लागि अहिलेको मुख्य चुनौती नै लागुऔषध नियन्त्रण हो,” उनले भने। उनका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये करिब ३५ प्रतिशत लागुऔषध मुद्दासँग सम्बन्धित छन्।

प्रहरीले लागुऔषध नियन्त्रणका लागि प्रहरी र स्थानीय प्रशासनको प्रयास मात्र पर्याप्त नहुने भन्दै स्थानीय सरकार र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको जनाएको छ।

गत आर्थिक वर्षमा कञ्चनपुर प्रहरीले ६५८ ग्राम खैरो हेरोइन, ६.५ किलोग्राम चरेश, ५२६ ग्राम गाँजा र ७२६ वटा लागुऔषध ट्याब्लेट बरामद गरेको जनाएको छ।

यस्तै, फैसला कार्यान्वयन अभियानअन्तर्गत जिल्लाभरबाट ५६२ जना फरार अभियुक्त पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई अदालतमार्फत कारागार चलान गरिएको तथा जरिवानाबापत २ करोड ४५ लाख रुपैयाँ असुल गरिएको प्रहरीले जानकारी दिएको छ।

Facebook Comments Box
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
२ दिन अगाडि

1.9kViews 132 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बझाङ जिल्लाको कोटदेवल आसपास केन्द्रबिन्दु भएर आज बिहान ४.२…

TOP
112 Shares