सरकारी वकिलको निर्देशन बेवास्ता गर्दै ललितपुर प्रहरीले लक्ष्मी खतिवडामाथि अनुसन्धान नगरेको आरोप

काठमाडौँ । आपराधिक लाभ (हनी ट्रयाप), सम्पत्ति शुद्धीकरण र संगठित अपराधसँग जोडिएको टिकटकर तुल्सी (तुलसा) अधिकारी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले दिएको अनुसन्धान निर्देशन प्रहरीले कार्यान्वयन नगरेको आरोप लागेको छ ।

मुद्दा अभियोजनका क्रममा सरकारी वकिलको निर्देशन पालना गर्नु प्रहरीको कानुनी दायित्व भए पनि ललितपुर प्रहरीले निर्देशन नै नआएको दाबी गर्दै अनुसन्धान अघि नबढाएको आरोप छ ।

प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले तुल्सी अधिकारीसँग निकट सम्बन्ध रहेको भनिएकी नेपाली कांग्रेस नेतृ लक्ष्मी खतिवडामाथि थप अनुसन्धान गर्न प्रहरी वृत्त सातदोबाटोलाई निर्देशन दिएको थियो । तर प्रहरीले हालसम्म खतिवडामाथि कुनै अनुसन्धान सुरु नगरेको बताइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरका सहायक जिल्ला न्यायाधिवक्ता भरतकुमार मैनालीले २०८२ साल चैत १९ गते प्रहरी वृत्त सातदोबाटोलाई पत्र पठाउँदै खतिवडाको भूमिकाबारे थप अनुसन्धान गर्न निर्देशन दिएका थिए । उक्त पत्रको पत्र संख्या ०८२/८३ र चलानी नम्बर ७२७९ रहेको उल्लेख छ ।

तर जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतमकुमार मिश्रले खतिवडाको विषयमा अनुसन्धान गर्न सरकारी वकिल कार्यालयबाट कुनै पत्र नआएको दाबी गरेका छन् ।

अभियोगपत्रमै खतिवडाको भूमिकामाथि प्रश्न

तुल्सी अधिकारीसहित ९ जना व्यक्ति तथा तुल्सा कलेक्सनलाई प्रतिवादी बनाएर जिल्ला अदालत ललितपुरमा दायर गरिएको अभियोगपत्रमा सरकारी वकिलको कार्यालयले खतिवडामाथि थप अनुसन्धान आवश्यक रहेको उल्लेख गरेको थियो ।

४७५ पृष्ठ लामो अभियोगपत्रमा तुल्सी अधिकारी र लक्ष्मी खतिवडाबीच निकट सम्बन्ध रहेको, उनीहरू सँगै विदेश भ्रमणमा गएको, आर्थिक कारोबार भएको तथा तुल्सी समूहसँग उनको सम्पर्क देखिएको उल्लेख गरिएको छ ।

अनुसन्धान प्रतिवेदनअनुसार तुल्सी अधिकारीले नेलिका लामिछानेमार्फत लक्ष्मी खतिवडाको बैंक खाता तथा मोबाइल नम्बरमा पटक–पटक रकम पठाएको दाबी गरिएको छ । बैंक विवरणअनुसार करिब ९ लाख ८७ हजार रुपैयाँ बराबरको रकम विभिन्न माध्यमबाट खतिवडासँग जोडिएको उल्लेख गरिएको छ ।

सरकारी वकिलको कार्यालयले कल डिटेल रिपोर्ट (सीडीआर), सामाजिक सञ्जालका सामग्री, विदेश भ्रमणका प्रमाण, बैंक कारोबार र विभिन्न व्यक्तिको बयानका आधारमा खतिवडाको भूमिकाबारे थप अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

पर्सा सहकारी मुद्दामा समेत भूमिकामाथि आशंका

अनुसन्धानका क्रममा तुल्सी अधिकारीसँग सम्बन्धित व्यक्तिहरूको बयानमा लक्ष्मी खतिवडाले पर्सा जिल्ला अदालतमा चलेको सहकारी ठगीसम्बन्धी मुद्दामा धरौटी व्यवस्थापनका लागि समन्वय गरेको दाबीसमेत आएको छ ।

अनुसन्धानमा बुझिएका सन्तोषकुमार घिमिरे र सन्तोष सुवेदीको बयानमा लक्ष्मी खतिवडाको समन्वयमा रकम व्यवस्थापन भएको उल्लेख गरिएको बताइएको छ ।

बयानअनुसार धरौटी प्रयोजनका लागि आवश्यक रकम व्यवस्थापनमा खतिवडाको भूमिका रहेको दाबी गरिएको भए पनि त्यस विषयमा प्रहरीले थप अनुसन्धान नगरेको आरोप छ ।

सरकारी वकिलको निर्देशन किन महत्वपूर्ण ?

कानुनअनुसार मुद्दा अभियोजनका क्रममा सरकारी वकिल कार्यालयले आवश्यक ठानेमा थप अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिन सक्छ । त्यस्तो निर्देशन कार्यान्वयन गर्नु अनुसन्धान निकायको जिम्मेवारी मानिन्छ ।

तर यस प्रकरणमा सरकारी वकिलको निर्देशन कार्यान्वयन नभएको र प्रहरीबाट चयनमुखी अनुसन्धान भएको आरोप उठेको छ ।

प्रहरीमाथि प्रश्न : अनुसन्धान कि संरक्षण ?

तुल्सी अधिकारीविरुद्ध आपराधिक लाभ, सम्पत्ति शुद्धीकरण र संगठित अपराधका गम्भीर आरोपमा मुद्दा चलिरहेको अवस्थामा सोही प्रकरणमा जोडिएका अन्य व्यक्तिमाथि अनुसन्धान नगर्नुले प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ ।

सरकारी वकिलको कार्यालयले प्रमाण र आधार देखाउँदै थप अनुसन्धानको निर्देशन दिएको अवस्थामा प्रहरीले त्यसलाई बेवास्ता गर्नु कानुनी प्रक्रिया र अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठाउने विषय बनेको छ ।

अब ललितपुर प्रहरीले सरकारी वकिलको निर्देशन किन कार्यान्वयन गरेन, पत्र प्राप्त नभएको दाबी किन गरियो र खतिवडाको भूमिकाबारे अनुसन्धान हुन्छ वा हुँदैन भन्ने विषय चासोको विषय बनेको छ ।

Facebook Comments Box
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
२ दिन अगाडि

1.9kViews 132 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बझाङ जिल्लाको कोटदेवल आसपास केन्द्रबिन्दु भएर आज बिहान ४.२…

TOP
133 Shares