हरिशयनी एकादशी आज : घर–घरमा तुलसी पूजा आरम्भ, चार महिनासम्म चल्ने चतुर्मासा सुरु

काठमाडौँ । सनातन वैदिक परम्पराअनुसार प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन गरिने तुलसी पूजा तथा चतुर्मासा व्रत आजदेखि सुरु भएको छ। यस अवसरमा घर–घरमा तुलसीको बिरुवा मोठमा सारेर विशेष पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसी मोठमा राखिएको दलको बिरुवा आज विधिपूर्वक मोठमा सारिन्छ। वैदिक मान्यताअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गरिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीसम्म तुलसीको विशेष आराधना गरिने प्रचलन छ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिएको हो। भगवान् विष्णुको शयन अवधिका यी चार महिनालाई चतुर्मासा भनिन्छ।

धार्मिक विश्वासअनुसार वर्षभर पर्ने २४ वटा एकादशीमध्ये सबै एकादशीमा व्रत बस्ने परम्परा भए पनि नसक्ने भक्तजनले चतुर्मास अवधिमा पर्ने आठ एकादशीमा व्रत गर्ने गर्छन्। दैनिक कामकाजमा व्यस्त रहने र लामो समयसम्म फलाहार गर्न नसक्नेहरूले भने हरिशयनी र हरिबोधिनी एकादशीका दिन विशेष व्रत तथा पूजा गर्ने गरेका छन्।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौँको बुढानीलकण्ठ, उपत्यकाका चार नारायण मन्दिरसहित देशभरका विष्णु तथा नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ। यस दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने, रोटी, ढिँडो तथा फलफूल सेवन गरी व्रत बस्ने धार्मिक परम्परा रहेको छ।

धार्मिक महत्वसँगै तुलसीको वैज्ञानिक महत्व पनि रहेको छ। तुलसीबाट प्रशस्त अक्सिजन प्राप्त हुने र यसको प्रयोग विभिन्न रोगको उपचारमा समेत हुने विश्वास गरिन्छ। तुलसी भएको स्थानमा वातावरण शुद्ध रहने तथा सकारात्मक ऊर्जा प्रवाह हुने जनविश्वास समेत रहेको छ।

चार महिनासम्म विधिपूर्वक पूजा गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन भगवान् दामोदरसँग विवाह गराउने वैदिक परम्परा छ। तुलसी–दामोदर विवाहपछि अग्नि स्थापना गरी हवनसहित चतुर्मासा व्रतको उद्यापन गर्ने चलन रहेको छ।

धार्मिक आस्था, वातावरणीय महत्व र सांस्कृतिक परम्परासँग जोडिएको हरिशयनी एकादशीले नेपाली समाजमा आध्यात्मिक चेतना र सनातन संस्कृतिको निरन्तरता झल्काउँदै आएको छ।

Facebook Comments Box
त्रिभुवन विमानस्थलमा एनओसी छल्ने ‘सेटिङ’ ? निर्देशक टंकनिधि दाहालमाथि गम्भीर आरोप, भारतीय नागरिक पक्राउपछि फेरि उठ्यो सुरक्षा प्रश्न
२ दिन अगाडि

3.4kViews 482 Shares Share on Facebook Share on Twitter काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय नागरिकलाई आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट…

TOP
284 Shares