तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला, प्रहरीले सुरु गर्‍यो गम्भीर अनुसन्धान

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पार्किङ गरी राखिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ।

तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे, चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ गरिएको BAE 0410 नम्बरको विद्युतीय कारभित्र शनिबार दिउँसो करिब १ बजे शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

मृतक तारकेश्वर नगरपालिका–९ शुभकामना चोक निवासी ४५ वर्षीया रश्मी रिजाल हुन्। उनी नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा ‘मर्चेन्ट हेड’का रूपमा कार्यरत रहेको खुलेको छ।

पारिवारिक स्रोतका अनुसार रिजाल साउन ८ गते बिहान करिब ७ बजेदेखि सम्पर्कविहीन रहेकी थिइन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार कारको पछाडिको सिटमा जलेको अवस्थामा शव फेला परेपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बालाजुको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाएको जनाएको छ। घटनाको प्रकृति, मृत्युको कारण तथा कारभित्र आगलागी कसरी भयो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धान जारी रहेकाले मृत्युको कारणबारे कुनै निष्कर्षमा पुग्न अझै बाँकी रहेको छ।

Facebook Comments Box
त्रिभुवन विमानस्थलमा एनओसी छल्ने ‘सेटिङ’ ? निर्देशक टंकनिधि दाहालमाथि गम्भीर आरोप, भारतीय नागरिक पक्राउपछि फेरि उठ्यो सुरक्षा प्रश्न
२ दिन अगाडि

3.4kViews 482 Shares Share on Facebook Share on Twitter काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय नागरिकलाई आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट…

TOP
15 Shares