

मिस नेपाल २०२६: मौलिक ज्ञान र आधुनिक शिक्षाको फ्युजनसहित प्रतियोगी नम्बर १४ प्रतिमा खड्का मैदानमा
काठमाडौँ।
सौन्दर्य प्रतियोगितालाई केवल बाह्य सुन्दरतामा मात्र सीमित नराखी उद्देश्य, सेवा र सामाजिक जिम्मेवारीको राष्ट्रिय मञ्चका रूपमा उपयोग गर्ने संकल्पसहित मिस नेपाल २०२६ मा प्रतियोगी नम्बर १४ प्रतिमा खड्का दरिलो दाबेदारका रूपमा प्रस्तुत हुनुभएको छ। एक समर्पित सामाजिक कार्यकर्ता, मानसिक स्वास्थ्य अभियन्ता तथा सामुदायिक नेतृत्वकर्त्री खड्काले यस मञ्चलाई नेपालका युवापुस्तामाझ अर्थपूर्ण सन्देश पुर्याउने अवसरका रूपमा लिएकी छन्।
अन्तर्राष्ट्रिय अनुभव र नेपाली माटोको सुगन्ध
अष्ट्रेलियाबाट समुदाय सेवामा स्नातक (Bachelor of Community Services) र सामाजिक कार्यमा स्नातकोत्तर (Master of Social Work) गरेकी प्रतिमासँग बहुसांस्कृतिक समुदायहरूसँग प्रत्यक्ष काम गरेको लामो अनुभव छ। अष्ट्रेलियामा आर्जन गरेको ज्ञान, सीप र अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालको मौलिक ज्ञान र संस्कृतिसँग जोडेर दिगो सामाजिक परिवर्तन ल्याउने उनको दृढ संकल्प छ।
“नेपाललाई परिवर्तन गर्न विदेशी सोच मात्र आवश्यक छैन; बरु विश्वस्तरीय अभ्यासलाई नेपालको मौलिक ज्ञान र संस्कृतिसँग जोडेर अघि बढ्न सकिन्छ,” खड्का भन्छिन्।
मानसिक कल्याण: विलासिता होइन, आधारभूत आवश्यकता
सन् २०१६ देखि ‘आर्ट अफ लिभिङ फाउन्डेसन’मा सक्रिय स्वयंसेवक तथा ‘दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया’ (न्यू साउथ वेल्स) की राज्य सचिवसमेत रहेकी प्रतिमा मानसिक स्वास्थ्यको उपचार मात्र नभई मानसिक कल्याणको शिक्षा (Mental Well-being Education) लाई प्राथमिकतातर्फ लैजानुपर्नेमा जोड दिन्छिन्।
उनका अनुसार मानसिक शान्ति र आत्मिक दृढताको खोजी कमजोरी नभई साहस र सशक्तीकरणको प्रतीक हो। विद्यालयहरूमा भावना व्यवस्थापन, तनाव नियन्त्रण र भावनात्मक रूपमा बलियो बन्ने जीवनोपयोगी सीपहरू सिकाउनुपर्ने उनको मुख्य एजेन्डा रहेको छ।
नेपालको प्राचीन दर्शनलाई विश्वमाझ पुर्याउने लक्ष्य
विश्वले खोजिरहेको धेरै मानसिक र आध्यात्मिक समस्याको उत्तर नेपालको संस्कृति, परम्परा र जीवनदर्शनमा शताब्दीयौँदेखि रहेको प्रतिमाको विश्वास छ। ध्यान, सचेत श्वासप्रश्वास, योग र माइन्डफुलनेस जस्ता अमूल्य अभ्यासहरूलाई आधुनिक पुस्तासँग जोड्दै व्यवहारिक र वैज्ञानिक रूपमा दैनिक जीवनमा लागू गराउनु उनको उद्देश्य हो।
नेपालको वास्तविक शक्ति यहाँको पारिवारिक सम्बन्ध, सहकार्यको भावना र मानवीय संवेदना भएको उल्लेख गर्दै उनी भन्छिन्, “जब एक व्यक्ति भित्रबाट सन्तुलित र सक्षम बन्छ, उसले आफ्नो परिवारलाई सशक्त बनाउँछ; सशक्त परिवारले समुदाय र समुदायले बलियो राष्ट्र निर्माण गर्छ।”
वातावरण र जलवायु परिवर्तनप्रति चासो
मानसिक कल्याणका साथै खड्का जलवायु परिवर्तन र वातावरण संरक्षणप्रति पनि उत्तिकै संवेदनशील छन्। कृषि र प्राकृतिक स्रोतमा निर्भर नेपालका लागि जलवायु परिवर्तन जनजीविका र खाद्य सुरक्षासँग जोडिएको मुद्दा भएकोले प्रकृतिको संरक्षण र मानव कल्याणलाई सँगै लैजानुपर्ने उनको धारणा छ।
मिस नेपालको यस यात्रामार्फत प्रतिमा खड्का भावनात्मक रूपमा सक्षम, सामाजिक रूपमा जिम्मेवार, वातावरणप्रति सचेत र मौलिक मूल्यमा गर्व गर्ने नयाँ पुस्ताको निर्माण गर्न चाहन्छिन्। नेपाललाई केवल सगरमाथाको देशका रूपमा मात्र नभई विश्वलाई करुणा, सचेत जीवनशैली र प्राचीन ज्ञानको मार्गदर्शन गर्ने राष्ट्रका रूपमा स्थापित गर्ने उनको दीर्घकालीन सपना रहेको छ।
समाज
थप सामाग्री-
प्रहरी श्रीमती संघद्वारा दृष्टि फाउन्डेसनमा खाद्यान्न तथा लत्ताकपडा वितरण
-
साउदी अरबमा सम्बन्ध विच्छेदको दर बढ्दो, सन् २०२५ मा करिब ५८ हजार तलाक दर्ता
-
बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक,महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य
-
लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पहिलो राजनीतिक पुस्ता तयार, अब चुनावमा उम्मेदवार बन्ने घोषणा
-
वैदेशिक रोजगार व्यवसायी संघको सरकारलाई १५ दिने अल्टिमेटम, वैज्ञानिक सेवा शुल्क निर्धारण र ५९८ म्यानपावरमाथिको कारबाही फिर्ता लिन माग
अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
११ घण्टा अगाडि
1.5kViews 414 Shares Share on Facebook Share on Twitter काठमाडौं । लगातारको अविरल वर्षाका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग…





