एमबीएस प्रथम सत्रको प्रश्नपत्र लिक प्रकरण: दुई पक्राउ, सात दिनभित्र छानबिन प्रतिवेदन आउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टीयू) को एमबीएस प्रथम सत्रको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको विशेष पहलपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार बिहान ‘सुलभ सर’ भनेर चिनिने व्यक्तिसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

प्रश्नपत्र बाहिरिएको सूचना प्राप्त हुनासाथ मन्त्री पोखरेलले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग छलफल गरी तत्काल अनुसन्धान तथा आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएका थिए।

प्रहरीका अनुसार ‘एमबीएस फर्स्ट सेम सेक्शन–सी’ नामक ह्वाट्सएप समूहमा परीक्षा सुरु भएको पाँच मिनेटमै ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको प्रश्नपत्र पठाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सामाजिक सञ्जालमा प्रश्नपत्र सार्वजनिक भएपछि ‘टीयू स्टुडेन्ट्स’ नामक फेसबुक पेजले स्क्रिनसटसहित त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराएको थियो। त्यसपछि व्यवस्थापन संकाय डिनको कार्यालयले साइबर ब्युरोलाई औपचारिक पत्राचार गर्दै घटनाको अनुसन्धान गर्न अनुरोध गरेको थियो।

यसैबीच, परीक्षा नियन्त्रण महाशाखाले प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात कार्यदिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको भूमिकाबारे पनि अनुसन्धान जारी रहेको जनाएको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
384 Shares