
कर्णालीमा साउनयता १७५ विपद्का घटना, १० जनाको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा साउनयता प्राकृतिक विपद्का १७५ वटा घटना भएका छन्। बाढी, पहिरो, आगलागी, अविरल वर्षा, चट्याङ तथा हावाहुरीका कारण भएका ती घटनामा १० जनाको मृत्यु भएको छ भने ३१ जना घाइते र दुई जना बेपत्ता भएका छन्।
प्रदेश प्रहरी कार्यालयका अनुसार विपद्का कारण १५२ घरधुरी विस्थापित भएका छन्। यस्तै, विभिन्न घटनाबाट २१ वटा उद्योगमा समेत क्षति पुगेको छ।
साउनयता पहिरोका घटना सबैभन्दा धेरै भएका छन्। यस अवधिमा ११८ वटा पहिरो, ४२ वटा बाढी, १७ वटा आगलागी, ५४ वटा अविरल वर्षा तथा चट्याङ र हावाहुरीका सात–सात वटा घटना भएका छन्।
लगातारको वर्षाका कारण कर्णालीका पहाडी जिल्लाका सडक तथा ग्रामीण बस्तीमा पहिरो जाने क्रम बढेको प्रहरीले जनाएको छ। बाढी र पहिरोले सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित हुनुका साथै दुर्गम बस्तीमा दैनिक उपभोग्य वस्तुको आपूर्तिसमेत प्रभावित हुने गरेको छ।
साउनयता विपद्का कारण सबैभन्दा बढी मानवीय क्षति जाजरकोटमा भएको छ। जाजरकोटमा चार जनाको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ। यस्तै, कालीकोट र मुगुमा दुई–दुई तथा सल्यान र रुकुम पश्चिममा एक–एक जनाको मृत्यु भएको छ।
विपद्का घटनामा ३१ जना घाइते भएका छन् भने दुई जना अझै बेपत्ता छन्। घरमा क्षति पुगेपछि वा जोखिमका कारण बस्न नसक्ने अवस्था आएपछि १५२ घरधुरी विस्थापित भएका छन्।
प्राकृतिक विपद्को असर घर तथा बस्तीमा मात्रै सीमित नभई उद्योग तथा व्यवसायसम्म पुगेको छ। साउनयता भएका विभिन्न विपद्का घटनामा २१ वटा उद्योगमा क्षति पुगेको प्रदेश प्रहरीको तथ्यांक छ। उद्योग तथा व्यवसायमा क्षति पुग्दा स्थानीय उत्पादन, रोजगारी र आर्थिक गतिविधिमा समेत असर पर्ने गरेको छ।
कर्णालीका अधिकांश ग्रामीण बस्ती भौगोलिक रूपमा विकट क्षेत्रमा रहेकाले बाढी तथा पहिरोका कारण सडक अवरुद्ध हुँदा उद्धार तथा राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउनसमेत कठिनाइ हुने गरेको छ। यसले विपद्बाट प्रभावित परिवारको समस्या थप जटिल बनाउने गरेको प्रहरीको भनाइ छ।
आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेशमा विपद्का कारण २२ जनाको मृत्यु भएको थियो भने ७३ जना घाइते भएका थिए। सो अवधिमा ७८ घरधुरी विस्थापित भएका थिए भने ३४ घर स्थानान्तरण गरिएको प्रदेश प्रहरी प्रवक्ता सन्तोषसिंह राठोरले जानकारी दिए।
प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्ष कर्णालीमा विभिन्न शीर्षकमा गरी एक हजार १५२ वटा विपद्जन्य घटना भएका थिए। बाढी, पहिरो, आगलागी, अविरल वर्षा, चट्याङ र हावाहुरीका कारण प्रदेशमा हरेक वर्ष जनधनको क्षति हुँदै आएको छ।
चालु आर्थिक वर्ष २०८३/८४ मा कर्णालीका १० जिल्लामा हालसम्म २५२ वटा विपद्का घटना भएका छन्। तीमध्ये साउनयता मात्रै १७५ घटना भएका हुन्।
वर्षायाममा बाढी, पहिरो र अविरल वर्षाका घटना बढ्ने भएकाले विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ। जोखिमयुक्त बस्तीको पहिचान, पूर्वसूचना प्रणालीको विस्तार, उद्धार सामग्रीको पर्याप्त व्यवस्था तथा स्थानीय तह र सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको प्रदेश प्रहरीले जनाएको छ।
विपद् भएपछि उद्धार र राहतमा मात्रै केन्द्रित हुनुभन्दा जोखिम न्यूनीकरण, पूर्वतयारी र सम्भावित क्षति कम गर्ने उपायमा जोड दिनुपर्ने अवस्था देखिएको छ।
समाज
थप सामाग्री-
थ्रेट’ भन्दै मध्यरात पक्राउ गरिएका चोलेन्द्रको सुरक्षा कति बढ्यो? सशस्त्रले बढाएन संख्या, प्रहरीले कति थप्यो?
-
बाढी आएको थियो र? चोलेन्द्रलाई ‘रेस्क्यु’ गरेको सरकारको दाबीमाथि जनरक्षाको गम्भीर प्रश्न
-
जलजलामा पहिरोले चार घर र दुई गोठ पुरिए, एक जना घाइते
-
दशैं–तिहारमा यात्रुको गुनासो सुन्न नाकामा ‘नागरिक यात्रु सहायता कक्ष’
-
बाढी प्रभावित प्रहरी परिवारका लागि आईजीपी दान कार्कीको ऐतिहासिक निर्णय
कर्णालीमा साउनयता १७५ विपद्का घटना, १० जनाको मृत्यु
११ घण्टा अगाडि
2.1kViews 15 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा साउनयता प्राकृतिक विपद्का १७५ वटा…





