बाढी प्रभावित प्रहरी परिवारका लागि आईजीपी दान कार्कीको ऐतिहासिक निर्णय

काठमाडौँ । राष्ट्र र जनताको सुरक्षाका लागि कर्तव्यमा खटिँदा प्रभावित बनेका नेपाल प्रहरीका कर्मचारी तथा उनीहरूका परिवारका लागि नेपाल प्रहरीले दीर्घकालीन राहत र पुनःस्थापनासम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ।

रसुवा जिल्लास्थित भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीका क्रममा प्रत्यक्ष प्रभावित भएका प्रहरी कर्मचारीका परिवारलाई लक्षित गर्दै नेपाल प्रहरी नीति निर्माण समितिले यस्तो निर्णय गरेको हो।

समितिको २०८३ असोज १२ गते बसेको उच्चस्तरीय बैठकले बाढीबाट प्रत्यक्ष प्रभावित २८ जना नेपाल प्रहरी कर्मचारीका सन्ततिलाई प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ।

कर्तव्यपालनका क्रममा प्रहरी कर्मचारीले भोग्नुपरेको जोखिम तथा विपद्का कारण उनीहरूका परिवारमा परेको असरलाई ध्यानमा राख्दै शिक्षामा दीर्घकालीन सहयोगको व्यवस्था गरिएको नेपाल प्रहरीले जनाएको छ।

यसैगरी प्रभावित प्रहरी परिवारका सदस्यहरूको जीविकोपार्जन तथा दीर्घकालीन पुनःस्थापनाका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत भएको छ। परिवारका सदस्यहरूको आवश्यकता, रुचि र क्षमताका आधारमा सीपमूलक तथा व्यावसायिक तालिम प्रदान गरी रोजगारीको उचित व्यवस्था मिलाउने निर्णय समितिले गरेको छ।

विपद्का बेला आफ्नै ज्यानको जोखिम मोलेर नागरिकको उद्धार, सुरक्षा तथा राहत कार्यमा खटिएका प्रहरी कर्मचारीको योगदानलाई सम्मान गर्दै उनीहरूका परिवारलाई शिक्षा, सीप र रोजगारीसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको हो।

नेपाल प्रहरीको यो निर्णय तत्कालीन राहतमा मात्र सीमित नरही प्रभावित प्रहरी परिवारको भविष्य सुरक्षित गर्ने दीर्घकालीन कल्याणकारी कदमका रूपमा आएको छ।

कर्तव्यमा खटिँदा प्रभावित भएका प्रहरी कर्मचारीका सन्ततिको शिक्षादेखि परिवारका सदस्यको रोजगारीसम्मको जिम्मेवारी संगठनले लिन खोज्नुले प्रहरी कर्मचारी र उनीहरूको परिवारप्रति संगठनको दायित्व तथा प्रतिबद्धता थप स्पष्ट पारेको छ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको नेतृत्वमा भएको उक्त निर्णयले विपद्का बेला कर्तव्यमा खटिने प्रहरी कर्मचारीको योगदानलाई संगठनले केवल सेवाकालीन जिम्मेवारीका रूपमा मात्र नभई उनीहरूको परिवारको भविष्यसँग जोडेर हेरेको सन्देश दिएको छ।

Facebook Comments Box
TOP
30 Shares