
थ्रेट’ भन्दै मध्यरात पक्राउ गरिएका चोलेन्द्रको सुरक्षा कति बढ्यो? सशस्त्रले बढाएन संख्या, प्रहरीले कति थप्यो?

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई ‘सुरक्षा थ्रेट’ रहेको भन्दै मध्यरात निवासबाट नियन्त्रणमा लिएर सुरक्षित स्थानमा लगिएको घटनाले उनको वास्तविक सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।
यदि राणामाथि सुरक्षा खतरा थियो भने राज्यले त्यसपछि उनको सुरक्षामा कति सुरक्षाकर्मी थप्यो? थ्रेटको स्रोत पहिचान भयो कि भएन? धम्की दिने व्यक्ति वा समूहसम्म प्रहरी पुग्यो कि पुगेन? भन्ने प्रश्न अहिले उठेको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार राणा अहिले पनि बाँसबारीस्थित आफ्नै निवासमा छन्। उनको निवास वरपर प्रहरीले सुरक्षा गस्ती बढाएको उनले बताए।
‘सुरक्षा दिने विषयमा विभिन्न निकायबाट प्रहरी खटाउने गरिन्छ। हाम्रो निकायको काम उहाँको घर बाहिरको क्षेत्रमा गस्ती गर्ने हो। हामीले त्यसलाई बढाएका छौं,’ घिमिरेले भने, ‘बाँकी काठमाडौं उपत्यका प्रहरी कार्यालयले खटाउने भएकाले त्यहीँ बुझ्नुपर्ला।’
आइतबारको घटनाअघि राणाको सुरक्षामा एक जना प्रहरी व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) का रूपमा खटिएका थिए। घटनापछि उनको सुरक्षामा कति प्रहरी थपिए भन्ने यकिन तथ्यांक भने प्रहरीले सार्वजनिक गरेको छैन।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता डीआईजी गोविन्द थपलियाले राणाको सुरक्षामा आवश्यकताअनुसार प्रहरी परिचालन गरिएको बताए। तर थपिएको सुरक्षाकर्मीको संख्या खुलाउन नमिल्ने उनको भनाइ छ।
‘संख्या भन्न मिल्दैन। आवश्यकता अनुसार थपघट भइरहन्छ। यति नै हुन्छ भन्ने यकिन हुँदैन। पहिला उहाँको सुरक्षामा एक जना प्रहरीको पीएसओ खटिने गरेको थियो। बाहिर सशस्त्र प्रहरी बस्ने हो,’ थपलियाले भने।
उनका अनुसार राणाको निवासबाहिर सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ। उनीहरूले सम्भावित जोखिमबारे सूचना संकलन तथा निगरानी गर्ने जिम्मेवारी पाएका छन्।
‘बाहिर थप सूचना संकलन गर्ने हिसाबले निगरानी गर्न सादा पोसाकका प्रहरी परिचालन भएका छन्। आवश्यक परे, थ्रेट बढ्यो भने संख्या थप्छौं। अपराध अनुसन्धानका प्रहरी र स्थानीय प्रहरी पनि परिचालन गरेका छौं,’ उनले भने।
प्रहरी स्रोतका अनुसार भने सूचना संकलन तथा निगरानीका लागि दुई–तीन जना प्रहरी मात्र बाहिर परिचालन गरिएको छ।
राणाको सुरक्षामा सशस्त्र प्रहरीको टोलीसमेत खटिएको छ। तर घटनापछि सशस्त्र प्रहरीले आफ्नो संख्या भने बढाएको छैन।
सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले सरकारको कार्यविधिअनुसार आवश्यक सुरक्षाकर्मी मात्रै परिचालन गरिएको बताए।
‘हामीले सरकारको कार्यविधि अनुसार जति खटाउनुपर्ने हो, त्यति मात्रै खटाएका छौं। त्यसबाहेक थपिएको वा घटाइएको भन्ने कुरा मलाई जानकारी भएन,’ कार्कीले भने।
स्रोतका अनुसार राणाको निवास सुरक्षामा सशस्त्र प्रहरीका पाँच जना खटिएका छन्। घटनापछि उनीहरूको संख्या थप गरिएको छैन।
थ्रेट दिनेहरू कहाँ छन्?
राणालाई ‘सुरक्षा थ्रेट’ रहेको दाबी गरिएपछि त्यसको स्रोत र विश्वसनीयतामाथि पनि प्रश्न उठेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार राणालाई सुरक्षा थ्रेट रहेको सूचना आएपछि आइतबार बिहान करिब १ बजे प्रहरी टोली बाँसबारीस्थित निवास पुगेको थियो। डीएसपी योगराज खतिवडाको नेतृत्वमा गएको टोलीले राणालाई नियन्त्रणमा लिएर राति करिब ३ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुर्याएको थियो।
सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले भने राणाको मोबाइलमा टेक्स्ट मेसेजमार्फत सुरक्षा थ्रेट आएको र त्यसै आधारमा उनलाई सुरक्षित स्थानमा सारिएको दाबी गरेका छन्।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सोमबार पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले राणालाई पक्राउ वा नियन्त्रणमा नलिइएको, सुरक्षा दिनका लागि उद्धार गरिएको दाबी गरेका थिए।
उनले राणाको परिवारबाट थप सुरक्षा माग गर्दै प्रहरी कार्यालयमा निवेदनसमेत परेको बताएका छन्।
तर राणाको मोबाइलमा कस्तो सन्देश आएको थियो, त्यो सन्देश कसले पठाएको थियो र त्यसलाई सुरक्षा निकायले कसरी मूल्यांकन गरेको थियो भन्ने विवरण सरकारले सार्वजनिक गरेको छैन।
प्रहरीले पनि अहिलेसम्म कथित थ्रेटको स्रोतबारे स्पष्ट जानकारी दिएको छैन।
त्यो थ्रेट कसबाट आएको थियो? कुनै व्यक्ति वा समूहले राणालाई प्रत्यक्ष धम्की दिएको थियो? सुरक्षा निकायले त्यसको सूचना पहिले नै पाएको थियो? पाएको भए त्यसको विश्वसनीयता कसरी परीक्षण गरियो? र धम्की दिने व्यक्ति वा समूह पहिचान गरेर उनीहरूमाथि अनुसन्धान वा कारबाही अघि बढाइएको छ कि छैन? भन्ने प्रश्न अनुत्तरित छन्।
यसैबीच राणाका छोरा सचिन्द्रले आफ्ना बुबाको सुरक्षाका लागि प्रहरी कार्यालयमा निवेदन दिएका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई पठाइएको भनिएको पत्रमा राणाले विगतमा राज्यका विभिन्न अंगमा निर्वाह गरेको जिम्मेवारी तथा न्यायपालिकाको प्रमुखका रूपमा गरेका न्यायिक निर्णयलगायतका कारण आफूले थप असुरक्षा महसुस गरेको उल्लेख गरिएको छ।
तर राज्यले सुरक्षा थ्रेटकै कारण राणालाई मध्यरातमा निवासबाट हटाएर केही घण्टा प्रहरी कार्यालयमा राख्नुपर्ने अवस्था सिर्जना भएको बताइरहँदा त्यसपछि उनको सुरक्षामा वास्तविक रूपमा कति वृद्धि गरियो भन्ने तथ्य सार्वजनिक नहुनुले घटनाको औचित्य र सुरक्षा व्यवस्थापनबारे थप प्रश्न जन्माएको छ।
एकातिर ‘थ्रेट’ रहेको भन्दै मध्यरातमा प्रहरी टोली राणाको निवास पुग्छ, अर्कोतिर त्यसपछि सशस्त्र प्रहरीको सुरक्षा संख्या यथावत् रहन्छ र प्रहरीले थपिएको संख्या सार्वजनिक गर्दैन। अझैसम्म कथित थ्रेटको स्रोतसमेत सार्वजनिक भएको छैन।
त्यसैले अहिले मुख्य प्रश्न यही बनेको छ—राणालाई थ्रेट दिने भनिएका व्यक्ति वा समूह कहाँ छन् र उनीहरूबारे सुरक्षा निकायले के अनुसन्धान गरिरहेको छ?
समाज
थप सामाग्री-
थ्रेट’ भन्दै मध्यरात पक्राउ गरिएका चोलेन्द्रको सुरक्षा कति बढ्यो? सशस्त्रले बढाएन संख्या, प्रहरीले कति थप्यो?
-
बाढी आएको थियो र? चोलेन्द्रलाई ‘रेस्क्यु’ गरेको सरकारको दाबीमाथि जनरक्षाको गम्भीर प्रश्न
-
जलजलामा पहिरोले चार घर र दुई गोठ पुरिए, एक जना घाइते
-
दशैं–तिहारमा यात्रुको गुनासो सुन्न नाकामा ‘नागरिक यात्रु सहायता कक्ष’
-
बाढी प्रभावित प्रहरी परिवारका लागि आईजीपी दान कार्कीको ऐतिहासिक निर्णय
कर्णालीमा साउनयता १७५ विपद्का घटना, १० जनाको मृत्यु
१० घण्टा अगाडि
2.0kViews 15 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा साउनयता प्राकृतिक विपद्का १७५ वटा…





