
जलजलामा पहिरोले चार घर र दुई गोठ पुरिए, एक जना घाइते

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–७ लामाबगरमा पहिरोले चार वटा घर र दुई गोठ पुरेको छ। पहिरोमा परी एक जना घाइते भएका छन्।
पहिरोले घर पुरेपछि च्यापिएको अवस्थामा उद्धार गरिएका ६५ वर्षीय आत्मराम शर्माको म्याग्दी प्रादेशिक अस्पताल बेनीमा उपचार भइरहेको छ। उनको अवस्था सुधारोन्मुख रहेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए।
अध्यक्ष आचार्यका अनुसार पहिरोले चक्रपाणि आचार्य, लिलाधर उपाध्याय, आत्मराम शर्मा र मञ्जुला आचार्यका घर तथा सँगै रहेका दुई वटा गोठ पुरिएका छन्।
मालढुङ्गा–बेनी सडकको माथिल्लो क्षेत्रमा धाँजा फाटेको सूचना पाएपछि स्थानीयवासीलाई यसअघि नै सुरक्षित स्थानमा सारिएको थियो। घरमै रहेका आत्मरामलाई पहिरोले पुरेपछि सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयवासीले उद्धार गरी अस्पताल पुर्याएका थिए।
छिमेकी रमेश शर्माका अनुसार आत्मरामले गुहार मागिरहेको अवस्थामा रुखले च्यापिएको अवस्थामा उद्धार गरिएको थियो।
पहिरोले गोठमा रहेका दुई वटा भैँसी तथा पाठापाठीसमेत पुरेको छ। घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा तथा अन्य बन्दोबस्तीका सामग्री पनि पहिरोमा पुरिएका छन्। करिब १२ रोपनी खेतीयोग्य जमिनसमेत पहिरोले पुरेको छ।
पहिरोका कारण विस्थापित परिवारका लागि जलजला गाउँपालिकाले मिलनचोकमा अस्थायी बसोबासको व्यवस्था मिलाएको अध्यक्ष आचार्यले बताए।
यसअघि असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले लामाबगरको खेतीयोग्य जमिन बगरमा परिणत गरेको थियो। नदी कटानका कारण थप खेतीयोग्य जमिन जोखिममा परेको छ।
बाढीपहिरोका कारण म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडकको मालढुङ्गा–बेनी खण्डसमेत अवरुद्ध भएको छ। केराबारीको पहिरो पन्छाउने काम भइरहेको र बुधबारदेखि लामाबगरको पहिरो हटाउन डोजर परिचालन गरिने जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले जानकारी दिए।
पछिल्लो चार दिनको लगातार वर्षाका कारण जलजला गाउँपालिकाका नौ वटै वडामा भौतिक क्षति पुगेको छ। जलजला–८ फर्सेका ६८ वटा घर कालीगण्डकी नदीले बगाएको छ भने लामाखेतमा २५ घर डुबानमा परेका छन्। धाइरिङमा २५ घर विस्थापित भएका छन् भने खानीगाउँका घरहरू पनि जोखिममा रहेका छन्।
बाढी, पहिरो र नदी कटानका कारण असुरक्षित भएका स्थानीयवासीलाई जिल्ला प्रशासन कार्यालय पर्वत तथा विभिन्न निकायको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न मंगलबारदेखि गाउँ–गाउँमा जनप्रतिनिधि र कर्मचारी परिचालन गरिएको गाउँपालिका अध्यक्ष आचार्यले बताए।
समाज
थप सामाग्री-
थ्रेट’ भन्दै मध्यरात पक्राउ गरिएका चोलेन्द्रको सुरक्षा कति बढ्यो? सशस्त्रले बढाएन संख्या, प्रहरीले कति थप्यो?
-
बाढी आएको थियो र? चोलेन्द्रलाई ‘रेस्क्यु’ गरेको सरकारको दाबीमाथि जनरक्षाको गम्भीर प्रश्न
-
जलजलामा पहिरोले चार घर र दुई गोठ पुरिए, एक जना घाइते
-
दशैं–तिहारमा यात्रुको गुनासो सुन्न नाकामा ‘नागरिक यात्रु सहायता कक्ष’
-
बाढी प्रभावित प्रहरी परिवारका लागि आईजीपी दान कार्कीको ऐतिहासिक निर्णय
कर्णालीमा साउनयता १७५ विपद्का घटना, १० जनाको मृत्यु
११ घण्टा अगाडि
2.1kViews 15 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा साउनयता प्राकृतिक विपद्का १७५ वटा…





