
तातोपानी कुण्डमा बाढीको क्षति, मुख्य याममै स्नानस्थल बन्द

म्याग्दी । अविरल वर्षापछि म्याग्दी नदीमा आएको बाढीले बेनी नगरपालिका–४ स्थित प्रसिद्ध प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा ठूलो क्षति पुर्याएको छ।
असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले कुण्डका विभिन्न भौतिक संरचनामा क्षति पुर्याएपछि तत्कालका लागि स्नान सेवा बन्द गरिएको हो।
तीन वटा पोखरीमध्ये बिरामीहरुले उपचारका लागि स्नान गर्ने ठूलो तथा उपल्लो पोखरीमा बाढी पसेर ठूलो मात्रामा हिलो र लेदो थुप्रिएको छ। पर्यटकका लागि सञ्चालन गरिएको सानो पोखरीसमेत बाढीले भत्काएको छ।
सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काका अनुसार कपडा परिवर्तन गर्ने भवन, तातोपानी भण्डारण गर्ने ट्याङ्की राखिएको भवन तथा खुला स्नानस्थलसमेत माथिबाट खसेको पहिरोले भत्काएको र पुरिएको छ।
“बाढी पहिरोले तातोपानी कुण्डका भौतिक संरचनामा क्षति पुर्याएकाले तत्काल स्नान गर्न सकिने अवस्था छैन। कुण्ड बन्द भएको छ,” खड्काले भने, “पोखरीमा थुप्रिएको बाढी पन्छाएर जतिसक्दो छिटो तातोपानी कुण्ड सञ्चालनमा ल्याउने प्रयासमा छौँ।”
कुण्ड व्यवस्थापन समितिको सोमबार बसेको बैठकले मंगलबारदेखि स्थानीयवासीले श्रमदान गरेर पोखरीमा थुप्रिएको लेदो र हिलो पन्छाउने निर्णय गरेको समितिका सदस्य मीना जुग्जालीले बताइन्। उनका अनुसार कुण्डको पुनः सञ्चालन तथा भौतिक संरचनाको मर्मतका लागि नगरपालिका, प्रदेश र सङ्घीय सरकारबाट सहयोगको अपेक्षा गरिएको छ।
असोज–कात्तिक सिंगा तातोपानी कुण्डमा स्नान गर्ने मुख्य याम हो। यही समयमा कुण्ड बन्द भएपछि तातोपानी बजारसमेत सुनसान बनेको छ। कुण्डमा आउने पर्यटक तथा उपचारका लागि आउने सर्वसाधारणमा निर्भर होटल, रेष्टुरेन्ट र होमस्टे व्यवसायीसमेत प्रभावित भएका छन्।
सिंगा तातोपानी कुण्डमा नेपालका ७७ वटै जिल्लाका साथै विदेशबाट समेत वार्षिक २० हजारभन्दा बढी सर्वसाधारण प्राकृतिक उपचारका लागि आउने गरेका छन्।
म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने करिब ५० डिग्री सेल्सियस तापक्रमको तातोपानीलाई पोखरीमा सङ्कलन गरी स्नान गर्ने व्यवस्था छ। पानीमा वीरेनुनको गन्ध आउने भएकाले यहाँ स्नान गर्दा छाला, ग्यास्ट्रिक, बाथ तथा चोटपटकलगायतका स्वास्थ्य समस्या निको हुने जनविश्वास रहेको छ।
कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार तातोपानीमा स्नान गर्ने मुख्य याम असोजदेखि वैशाखसम्म रहने गरेको छ। प्राकृतिक उपचारस्थलका रुपमा परिचित कुण्डमा बाढीले क्षति पुर्याएपछि मुख्य स्नान याममै सेवा अवरुद्ध हुँदा स्थानीय पर्यटन व्यवसायमा समेत प्रत्यक्ष असर परेको छ।
समाज
थप सामाग्री-
थ्रेट’ भन्दै मध्यरात पक्राउ गरिएका चोलेन्द्रको सुरक्षा कति बढ्यो? सशस्त्रले बढाएन संख्या, प्रहरीले कति थप्यो?
-
बाढी आएको थियो र? चोलेन्द्रलाई ‘रेस्क्यु’ गरेको सरकारको दाबीमाथि जनरक्षाको गम्भीर प्रश्न
-
जलजलामा पहिरोले चार घर र दुई गोठ पुरिए, एक जना घाइते
-
दशैं–तिहारमा यात्रुको गुनासो सुन्न नाकामा ‘नागरिक यात्रु सहायता कक्ष’
-
बाढी प्रभावित प्रहरी परिवारका लागि आईजीपी दान कार्कीको ऐतिहासिक निर्णय
कर्णालीमा साउनयता १७५ विपद्का घटना, १० जनाको मृत्यु
१८ घण्टा अगाडि
2.2kViews 15 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा साउनयता प्राकृतिक विपद्का १७५ वटा…





