तीन महिनामा ५९० जनाले लिए गैरआवासीय नेपाली नागरिकता

काठमाडौं । चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा ५९० जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन्। गृह मन्त्रालयले सार्वजनिक गरेको तीन महिनाको प्रगति विवरणअनुसार देशभरका जिल्ला प्रशासन कार्यालयबाट उक्त संख्यामा गैरआवासीय नेपाली नागरिकता जारी भएको हो।

नेपालको संविधान र नागरिकता ऐन, २०६३ को दफा ७(क) अनुसार विदेशी मुलुकको नागरिकता प्राप्त गरेका साविकका नेपाली नागरिक तथा उनीहरूका सन्तानलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था छ। यद्यपि, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रबाहेकका मुलुकको नागरिकता प्राप्त गरेका व्यक्तिले मात्रै यस्तो नागरिकता लिन पाउँछन्।

आफू वा आफ्नो बाबु–आमा, बाजे–बज्यै साविकमा नेपालको वंशज वा जन्मका आधारमा नागरिक रहेको प्रमाणित भएमा गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सकिन्छ।

गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले नेपालमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउँछन्। उनीहरूले नेपालमा सम्पत्ति आर्जन, भोगचलन, बिक्री–वितरण तथा अन्य आर्थिक कारोबार गर्न सक्ने व्यवस्था छ। तर, राजनीतिक अधिकार भने प्राप्त हुँदैन। उनीहरूले मतदान गर्न, निर्वाचनमा उम्मेदवार बन्न वा नेपाली राहदानी लिन पाउँदैनन्। त्यस्तै, सरकारी तथा सार्वजनिक पदमा समेत नियुक्त हुन पाउँदैनन्।

संविधानको धारा १४ मा गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरिएको छ। सोही व्यवस्थालाई कार्यान्वयन गर्न २०७९ सालमा नागरिकता ऐन, २०६३ संशोधन गरी दफा ७(क) थप गरिएको थियो।

उक्त दफाअनुसार गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले आफू वा आफ्नो बाबु–आमा, बाजे–बज्यै नेपालको नागरिक रहेको प्रमाण, पहिले नेपाली नागरिकता लिएको भए त्यसलाई त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता प्राप्त गरेको प्रमाण, सार्क सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको प्रमाण तथा नेपालको संविधान र कानुन पालना गर्ने प्रतिबद्धतापत्र पेस गर्नुपर्ने व्यवस्था छ।

यसअघि नेपाली नागरिकता लिएको तर प्रमाणपत्र फिर्ता नगरेको व्यक्तिले गैरआवासीय नेपाली नागरिकताका लागि निवेदन दिँदा पहिले लिएको नागरिकताको प्रमाणपत्रसमेत पेस गर्नुपर्छ।

गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्दा शपथ लिनुपर्ने व्यवस्था पनि अनिवार्य गरिएको छ। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले नागरिकता प्राप्त गर्ने व्यक्तिलाई शपथ गराउँछन्। विदेशस्थित नेपाली दूतावास वा महावाणिज्य दूतावासमार्फत प्रक्रिया अघि बढाइएको भए पनि अन्तिम रूपमा नागरिकता जारी गर्ने र शपथ गराउने जिम्मेवारी सम्बन्धित प्रमुख जिल्ला अधिकारीकै हुन्छ।

शपथका क्रममा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण वफादार रहने तथा संविधान र प्रचलित कानुनको पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्छ। गैरआवासीय नेपाली नागरिकताबाट प्राप्त अधिकारबाहेक अन्य अधिकार उपभोग नगर्ने प्रतिबद्धतासमेत जनाउनुपर्ने कानुनी व्यवस्था छ।

यस्तो नागरिकता प्राप्त गर्न झुट्टा विवरण वा नक्कली कागजात पेस गरेमा कानुनअनुसार कारबाही हुने व्यवस्था छ। झुट्टा विवरण पेस गरी नागरिकता प्राप्त गरेको प्रमाणित भएमा तीन महिनादेखि एक वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ। त्यस्तो अवस्थामा नागरिकतासमेत रद्द गरिनेछ।

त्यस्तै, नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय हितविपरीत कार्य गरेको ठहरिएमा गैरआवासीय नेपाली नागरिकता रद्द गर्न सकिने कानुनी व्यवस्था छ।

Facebook Comments Box
आज कार्तिक २३ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि

2.2kViews 15 Shares Share on Facebook Share on Twitter मेष सञ्चित धनमा वृद्धि हुनेछ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा पर्ने…

TOP
15 Shares