प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनविरुद्ध प्रहरीमा जाहेरी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार (कुमार बेन) विरुद्ध प्रहरीमा जाहेरी परेको छ। अनुसन्धानका क्रममा रहेका व्यक्तिका मोबाइल फोन अनधिकृत रूपमा आफ्नो निवासमा राखेको र डिजिटल प्रमाण नष्ट गरेको आरोप लगाउँदै उनीविरुद्ध जाहेरी परेको हो।

जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले बुधबार जिल्ला प्रहरी परिसर काठमाडौं (भद्रकाली) मा इमेलमार्फत जाहेरी दिएका हुन्। उनले मुलुकी अपराध संहिता, २०७४ को दफा ८९ अनुसार झुटा प्रमाण बनाउन नहुने कसुरमा अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरेका छन्।

जाहेरीमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानको दायरामा रहेका इनम सापकोटाका दुईवटा मोबाइल फोन डिजिटल फरेन्सिक परीक्षण हुनुअघि कुमार बेनले आफ्नो ज्वागलस्थित निवासमा दुई दिनसम्म राखेको आरोप लगाइएको छ।

जाहेरीअनुसार २०८३ असोज १६ गते राति सवा ९ बजे सापकोटाका मोबाइल फोन बेनको निवासमा रहेको प्रहरीको लोकेसन ट्र्याकिङबाट पुष्टि भएको दाबी गरिएको छ।

प्रहरीलाई मोबाइल फिर्ता गरेपछि गरिएको डिजिटल फरेन्सिक परीक्षणका क्रममा उक्त अवधिमा ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जाल सञ्चालन गरिएको, विभिन्न सामग्रीका स्क्रिनसट लिइएको र सापकोटा तथा बेनबीच आदानप्रदान भएका केही महत्त्वपूर्ण सन्देशसमेत मेटाइएको जाहेरीमा उल्लेख छ।

अनुसन्धानका क्रममा रहेका व्यक्तिका डिजिटल उपकरणमा प्रहरीको आधिकारिक प्रक्रियाबाहिर रहेर पहुँच पुर्‍याइएको र त्यसबाट अनुसन्धानसँग सम्बन्धित प्रमाण नष्ट भएको हुन सक्ने भन्दै शाहले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

जाहेरीमा डिजिटल प्रमाणमा गैरकानुनी पहुँच पुर्‍याएको, प्रमाण नष्ट गरेको तथा पदको दुरुपयोग गरी अनुसन्धान प्रभावित पारेको आरोप लगाइएको छ। जेनजी मुभमेन्ट नेपालले आरोप पुष्टि गर्न सहयोग पुग्ने भनिएका प्रमाण तथा सञ्चारमाध्यममा प्रकाशित सामग्रीसमेत जाहेरीसँगै पेस गरेको जनाएको छ।

यता, यस विषयमा प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले आफूलाई जाहेरी परेकोबारे जानकारी नभएको बताएका छन्। जिल्ला प्रहरी परिसरका प्रवक्ता दान थापाले पनि जाहेरीबारे आफूलाई जानकारी नरहेको बताएका छन्।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिविरुद्ध गम्भीर प्रकृतिको आरोपसहित जाहेरी परेपछि घटनाको निष्पक्ष अनुसन्धान र डिजिटल प्रमाणको विश्वसनीयताबारे चासो बढेको छ।

Facebook Comments Box
१८ महिना कार्यकाल बाँकी छँदै हटाइएका दानबहादुर कार्कीको सरकारमाथि कानुनी प्रहार, निर्णय स्वेच्छाचारी भएको जिकिर
२ दिन अगाडि

2.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई प्रहरी प्रमुखको…

TOP
15 Shares