सरकारको ओत लागेर होइन, स्वतन्त्र प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारको संरक्षणमा रहेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने पक्षमा नरहेको बताएका छन्। उनले सरकारका गलत कामको सशक्त प्रतिवाद गर्दै स्वतन्त्र प्रतिपक्षका रूपमा राष्ट्रिय स्वाधीनता, राष्ट्रिय हित र जनताको अधिकारको पक्षमा उभिने स्पष्ट पारेका छन्।

बिहीबार काठमाडौंमा जारी एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा (एमाले) देशको प्रमुख प्रतिपक्षी शक्ति भएको दाबी गरे। उनले सरकारको ओत लागेर नभई स्वतन्त्र रूपमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।

अध्यक्ष ओलीले निर्वाचनमा एमालेको पराजयलाई जनताबाट टाढिएको परिणामका रूपमा मात्र व्याख्या गर्न नमिल्ने जिकिर गरे। निर्वाचनअघि नै प्रतिकूल र असामान्य राजनीतिक वातावरण सिर्जना गरिएको तथा एमालेलाई एक्ल्याउने प्रयास भएको उनको आरोप थियो।

संसद्को असंवैधानिक विघटनलाई मान्यता दिइएको भन्दै उनले न्यायालयको भूमिकामाथि समेत प्रश्न उठाए। संविधान र कानुनअनुसार न्यायिक निर्णय हुन नसकेको टिप्पणी गर्दै ओलीले निर्वाचनको वातावरण नभएको भन्दै एमालेले सुरुदेखि नै आवाज उठाएको बताए।

निर्वाचनमा सहभागी नभएको भए पार्टीमाथि थप गलत व्याख्या र प्रहार हुन सक्ने भएकाले प्रतिकूल परिस्थितिका बाबजुद एमाले चुनावमा गएको उनको भनाइ थियो। विभिन्न शक्ति मिलेर एमालेलाई समाप्त पार्न खोजे पनि पार्टी अझै बलियो अवस्थामा रहेको उनले दाबी गरे।

सम्बोधनका क्रममा ओलीले टर्कीमा आयोजित जलवायु परिवर्तनसम्बन्धी कोप–३१ सम्मेलनमा नेपालको सहभागितालाई लिएर पनि सरकारको आलोचना गरे। नेपालको सहभागिता कमजोर रहेको टिप्पणी गर्दै उनले जलवायु परिवर्तनको मुद्दा पर्यटनसँग मात्र सीमित नभई हिमाल, हिमनदी, जल पुनर्भरण प्रणाली र समग्र जनधनको सुरक्षासँग जोडिएको बताए।

हिमालको संरक्षण नेपालको मात्र नभई विश्वव्यापी सरोकारको विषय भएको उल्लेख गर्दै ओलीले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मुद्दालाई प्रभावकारी रूपमा उठाउन सरकारले गम्भीर पहल गर्नुपर्ने बताए।

ओलीले निर्वाचनमा भएको पराजय स्वीकार गर्दै त्यसको कारण र राजनीतिक परिस्थितिबारे आफ्नो पार्टीको धारणा स्पष्ट पारेका छन्। साथै, सरकारका कामकारबाहीमाथि निगरानी र खबरदारी गर्ने स्वतन्त्र प्रतिपक्षको भूमिकामा एमाले रहने उनको भनाइ छ।

Facebook Comments Box
१८ महिना कार्यकाल बाँकी छँदै हटाइएका दानबहादुर कार्कीको सरकारमाथि कानुनी प्रहार, निर्णय स्वेच्छाचारी भएको जिकिर
२ दिन अगाडि

2.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई प्रहरी प्रमुखको…

TOP
15 Shares