आज धनतेरस मनाइँदै, तिहार पर्व सुरु

काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । तिहारको पहिलो दिन आज धनतेरस पर्व मनाइँदैछ । यस अवसरमा नयाँ गरगहना, सुनचाँदीका सिक्का तथा धातुका भाँडाकुँडा खरिद गरी घरमा ल्याएर पूजा गर्ने परम्परा छ ।

त्रयोदशी तिथिमा मनाइने कागपूजा र धन्वन्तरी जयन्ती भने भोलि शनिबार परेको छ । आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा गरिनेछ भने सोही दिन साँझ लक्ष्मीपूजा मनाइनेछ । यस वर्ष कात्तिक २५ गते भाइटीका परेको छ ।

चन्द्रमासअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने तिहार यसपटक तिथिको घटबढका कारण छ दिनसम्म मनाइने भएको छ ।

आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी तिथि सुरु हुने भएकाले धनतेरस मनाउन लागिएको पण्डित नारायणप्रसाद दुलालले जानकारी दिएका छन् । उनका अनुसार आज बिहान ११ बजेर १० मिनेटपछि सुरु हुने त्रयोदशी तिथि भोलि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ ।

मिथिला क्षेत्रमा कात्तिक कृष्णपक्षको त्रयोदशीका दिन साँझ दीपमालिका गर्ने चलनसमेत छ । धनतेरसका अवसरमा धातुका भाँडाकुँडा, सुनचाँदीका गहना, खरेटो, धनियाँलगायत सामग्री खरिद गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको छ ।

धनतेरसलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आज पनि सुनचाँदीका सिक्का बिक्री गर्दैछ । राष्ट्र बैंकले बबरमहलस्थित कार्यालयबाट बिहीबारदेखि नै सुनचाँदीका सिक्का बिक्री सुरु गरेको हो ।

Facebook Comments Box
TOP
15 Shares