समाचारकक्षमा प्रहरी धरकपडको छानबिन गर्न पत्रकार महासंघको माग, छठपछि चरणबद्ध आन्दोलन गर्ने चेतावनी

काठमाडौं । समाचारकक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरकपडको स्वतन्त्र छानबिन गरी दोषीमाथि कारबाही गर्न नेपाल पत्रकार महासंघले सरकारसँग माग गरेको छ । उक्त घटना समग्र पत्रकारिता क्षेत्र र प्रेस स्वतन्त्रतामाथिकै प्रहार भएको निष्कर्ष निकाल्दै महासंघले माग पूरा नभए छठपछि चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

शुक्रबार महासंघका अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा बसेको बैठकले समाचारकक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरकपडको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्न सरकारसँग माग गर्ने निर्णय गरेको हो ।

बैठकले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश सरोकारवाला पक्षसँग आवश्यक छलफल नगरी एकपक्षीय रूपमा ल्याइएको भन्दै फिर्ता लिन सरकारसँग आग्रह गर्ने निर्णयसमेत गरेको छ । साथै, उक्त अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गर्ने महासंघले जनाएको छ ।

त्यसैगरी, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गर्ने, पारिश्रमिक उपलब्ध नगराउने र चाडपर्व खर्चसमेत नदिने कार्य श्रम अधिकारको गम्भीर उल्लंघन भएको महासंघको ठहर छ । महासंघले पत्रकारका श्रम अधिकार सुनिश्चित गर्न र सञ्चारमाध्यममा देखिएका यस्ता समस्या समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गर्दै आएको रकम कटौती गर्ने विषयमा समेत महासंघले आपत्ति जनाएको छ । उक्त रकम प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम उपलब्ध गराउने व्यवस्था कायम गर्न सरकारसँग आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।

महासंघले वर्तमान अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानको संरक्षणका लागि शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) लाई सक्रिय बनाउँदै चरणबद्ध आन्दोलन अघि बढाउने जनाएको छ । यसका साथै, संसदमा यी विषयमा प्रभावकारी प्रतिवाद गर्ने वातावरण निर्माणका लागि सांसदहरूसँग बहस तथा पैरवी गर्ने र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेका अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने निर्णय पनि बैठकले गरेको छ ।

महासंघले प्रेस स्वतन्त्रता, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारमाथि भइरहेको हस्तक्षेपलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा बैठकका निर्णयहरू सार्वजनिक गरिएको हो ।

Facebook Comments Box
TOP
15 Shares