आईजीपी दानबहादुर कार्कीपछि गुप्तचर प्रमुख टेकेन्द्र कार्की पनि हट्ने चर्चा, प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएपछि सुरक्षा निकायभित्र नेतृत्व परिवर्तनको तरंग थप फैलिएको छ । प्रहरी नेतृत्व परिवर्तनसँगै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की पनि पदबाट हट्न सक्ने चर्चा सुरु भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीसँग सन्तुष्ट नरहेको स्रोतको दाबी छ । यही कारण विभागमा पनि नेतृत्व परिवर्तनको तयारी भइरहेको चर्चा सुरक्षा वृत्तमा चल्न थालेको हो ।

प्रधानमन्त्री शाहले बिहीबार सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिँदा टेकेन्द्र कार्कीलाई बोलाएका थिए । स्रोतका अनुसार प्रधानमन्त्रीले गुप्तचर प्रमुखसँग भेट नगरेको करिब पाँच महिना भइसकेको थियो ।

सुनसरीमा भएको धार्मिक तनावको घटनामा राष्ट्रिय अनुसन्धान विभागले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको प्रधानमन्त्रीको बुझाइ रहेको स्रोतको भनाइ छ । उक्त घटनापछि विभागको कार्यक्षमतामाथि प्रश्न उठेको र नेतृत्व परिवर्तनको विषयले थप चर्चा पाएको बताइएको छ ।

विभागमा उच्च तहमा कार्यरत अधिकारीहरूलाई हटाएर नयाँ नेतृत्व ल्याउने विषयमा प्रधानमन्त्री कार्यालयमा छलफलसमेत भइसकेको स्रोतले जनाएको छ । विभागको नेतृत्व परिवर्तनका लागि ३० वर्षे सेवा अवधि लागू गर्ने व्यवस्थासहित अध्यादेश ल्याउने विषयमा समेत छलफल भएको बताइएको छ ।

तर, विभागको नेतृत्व सम्हाल्न उपयुक्त पात्रको खोजी भइरहेको र अहिलेसम्म त्यस्तो व्यक्ति निश्चित हुन नसकेका कारण अध्यादेशको प्रक्रिया अघि बढ्न नसकेको स्रोतको दाबी छ ।

राष्ट्रिय अनुसन्धान विभाग अहिले प्रत्यक्ष रूपमा प्रधानमन्त्री कार्यालयको मातहतमा रहेको छ । विभागमा लामो समयदेखि नियमित सरुवा तथा बढुवाका कामसमेत अवरुद्ध हुँदै आएको बताइएको छ । आवश्यक सहयोग र निर्णय प्रक्रियामा ढिलाइ हुँदा विभागको कामकाज प्रभावित बनेको तथा संगठनभित्र अस्तव्यस्तता बढ्दै गएको स्रोतको भनाइ छ ।

नेपाल प्रहरीको नेतृत्व परिवर्तनपछि राष्ट्रिय अनुसन्धान विभागमा पनि नेतृत्व फेरबदलको चर्चा चल्न थालेसँगै सुरक्षा निकायको समग्र संरचना र कार्यक्षमतामाथि सरकारको समीक्षा तीव्र बनेको देखिन्छ ।

 

Facebook Comments Box
TOP
15 Shares