
तिहारका लागि पोखरा झरे हिमाली भेगका भेँडाच्याङ्ग्रा, रोज्जाको मूल्य ४० हजार रुपैयाँ

पोखरा ।तिहार नजिकिएसँगै मुस्ताङ, डोल्पा र मुगुलगायत हिमाली जिल्लाबाट व्यापारी भेँडाच्याङ्ग्रा लिएर पोखरा झरेका छन् । दसैँको तुलनामा तिहारमा माग कम हुने भए पनि यस वर्ष अघिल्ला वर्षको तुलनामा पोखरामा बढी सङ्ख्यामा भेँडाच्याङ्ग्रा भित्रिएका छन् ।
पोखरा महानगरपालिका–१ सिमपानी क्षेत्रमा अहिले विभिन्न स्थानमा भेँडाच्याङ्ग्रा बिक्रीका लागि राखिएका छन् । व्यापारीका अनुसार सिमपानीका सात–आठ स्थानबाट भेँडाच्याङ्ग्राको बिक्रीवितरण भइरहेको छ ।
मुस्ताङको जोमसोमका व्यापारी पेम्बा छिरिङका अनुसार तिहारका लागि मुस्ताङबाट एक हजार २०० च्याङ्ग्रा बाहिरिएका छन् । तीमध्ये ५०० काठमाडौँ र ७०० पोखरा ल्याइएको छ । उनका अनुसार राम्रो र रोज्जा च्याङ्ग्राको मूल्य प्रतिगोटा ४० हजार रुपैयाँसम्म पर्छ भने त्योभन्दा कम मूल्यका च्याङ्ग्रा पनि उपलब्ध छन् ।
छिरिङले साथी निरज थकालीसँग मिलेर तिहारका लागि ५५ वटा च्याङ्ग्रा पोखरा ल्याएका छन् । उनले दसैँमा तीन सयभन्दा बढी च्याङ्ग्रा बिक्री गरेका थिए । दसैँमा फूलपातीपछि माग अत्यधिक बढेर आपूर्ति गर्नसमेत कठिन भएको उनको अनुभव छ ।
“दसैँमा च्याङ्ग्राको राम्रो व्यापार भयो । फूलपातीपछि त माग पूरा गर्नै नसक्ने अवस्था आएको थियो,” छिरिङले भने, “तिहारमा च्याङ्ग्राको माग स्वाभाविक रूपमा कम हुन्छ, तर अघिल्ला वर्षको तुलनामा यसपटक पोखरामा बढी सङ्ख्यामा भेँडाच्याङ्ग्रा भित्रिएका छन् ।”
मुगुको छायाँनाथ रारा नगरपालिका–६ का उदीम भाम पनि भेँडाच्याङ्ग्रा लिएर सुर्खेत हुँदै पोखरा आइपुगेका छन् । उनको बथानमा अधिकांश भेँडा र साँढ छन् भने केही च्याङ्ग्रा पनि छन् । मुगुबाट चार दिनको यात्रा गरेर पोखरा आइपुगेको उनले बताए ।
“दसैँमा च्याङ्ग्रा ल्याएर बेचेको हो । यसरी पोखरा आउन थालेको पाँच–छ वर्षजति भयो,” भामले भने, “गत वर्ष केही घाटा खानुपर्यो, अहिलेको दसैँमा राम्रै व्यापार भयो । तिहारको आम्दानी कस्तो हुन्छ, हेरौँ ।”
उनका अनुसार दसैँ–तिहारको समयमा एउटा व्यापारीले डेढदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । तर, टाढाको हिमाली क्षेत्रबाट पशु ल्याउँदा ढुवानी, खाना र बासमा ठूलो खर्च हुने गरेको व्यापारीको भनाइ छ ।
डोल्पाका सन्तोष धराला पनि १५० च्याङ्ग्रा लिएर बिक्रीका लागि पोखरा आएका छन् । उनी तीन वर्षदेखि चाडपर्वको समयमा च्याङ्ग्रा बेच्न पोखरा आउने गरेका छन् ।
“च्याङ्ग्राका लागि घाँस र चरण क्षेत्र पाइने भएकाले पोखरामा सहज पनि छ,” धरालाले भने, “मुख्य पेशा नै यही भएकाले घाटा–नाफा जे भए पनि च्याङ्ग्रा व्यापारलाई निरन्तरता दिँदै आएको छु ।”
दसैँ–तिहारको समयमा पोखरासहित विभिन्न जिल्लाका व्यापारी मुस्ताङ पुगेर च्याङ्ग्रा खरिद गर्ने गर्छन् । विशेषगरी जोमसोम, कागबेनी र चमरलगायत क्षेत्रबाट खरिद गरिएका च्याङ्ग्रा म्याग्दी, बागलुङ र पर्वत हुँदै पोखरा ल्याइन्छन् । यो यात्रा पूरा गर्न कतिपय व्यापारीलाई एक सातासम्म लाग्ने गर्छ ।
मुस्ताङबाट पोखरा ल्याइएका च्याङ्ग्रा यहाँबाट काठमाडौँसम्म पनि पुर्याइन्छन् । केही व्यापारीले ट्रकमार्फत ढुवानी गर्ने गरे पनि कतिपयले लामो र कठिन बाटो हिँडाएरै पोखरासम्म ल्याउने गरेका छन् ।
भेँडाच्याङ्ग्रा व्यापार हिमाली क्षेत्रका धेरै परिवारको पुस्तैनी पेशा हो । चाडपर्वका बेला हुने बिक्रीले उनीहरूको जीविकोपार्जनमा सहयोग पुर्याउनुका साथै उपभोक्तालाई परम्परागत स्वादको परिकार उपभोग गर्ने अवसरसमेत प्रदान गर्दै आएको छ ।
अन्य मासुजन्य परिकार वर्षभरि उपलब्ध भए पनि च्याङ्ग्राको मासुका लागि भने उपभोक्ताले मुख्यतः दसैँ र तिहार कुर्ने गर्छन् । विशेषगरी दसैँका बेला यसको माग बढी हुने गरेको छ । हिमाली हावापानीमा हुर्कने र प्राकृतिक चरनमा जडीबुटीलगायत वनस्पति खाने भएकाले च्याङ्ग्राको मासु स्वादिलो मानिने उपभोक्ताको विश्वास छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
आज कार्तिक २१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
-
समाचारकक्षमा प्रहरी धरकपडको छानबिन गर्न पत्रकार महासंघको माग, छठपछि चरणबद्ध आन्दोलन गर्ने चेतावनी
-
सुरक्षित राजधानी, सुदृढ प्रहरी र नागरिकको भरोसा
-
सिंहदरबारभित्रै जेब्रा क्रसिङमा सांसद गैरेलाई गाडीको ठक्कर, ट्रमा सेन्टरमा उपचार
-
आज धनतेरस मनाइँदै, तिहार पर्व सुरु
सत्ताको स्वार्थमा प्रहरी प्रमुखमाथि प्रहार : प्रहरी संगठनलाई राजनीतिक खेलमैदान बनाउने दुस्साहस !
१ दिन अगाडि
2.2kViews 15 Shares Share on Facebook Share on Twitter नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कार्यकाल बाँकी रहँदै जिम्मेवारीबाट हटाउने…





