
काठमाडौँ उपत्यकाको त्रैमासिक सुरक्षा विश्लेषण तथा चाडपर्व लक्षित सुरक्षा योजना समीक्षा २०८३

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक (श्रावण, भाद्र र असोज महिना) अवधिमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय र मातहतका एकाइहरूबाट उपत्यकाको समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा कानुन कार्यान्वयनका क्षेत्रमा बहुआयामिक र परिणाममुखी कार्यहरू सम्पादन गरिएका छन्। सहरीकरणको चाप, जनघनत्व र संघीय राजधानीको संवेदनशीलतालाई दृष्टिगत गरी सिसिटिभी,, ड्रोन, डग स्निफिङ लगयात विभिन्न विधिसहित प्रहरी परिचालनलाई निरोधात्मक र उपचारात्मक दुवै रणनीतिमा आधारित बनाइएको छ। यस तीन महिनाको अवधिमा प्रहरीको प्रत्यक्ष उपस्थिति र निगरानी बढाउन कुल २३,२४३ पटक मोबाइल गस्ती, २०,८८७ पटक पैदल गस्ती, ११,३४९ पटक मोटरसाइकल गस्ती र ६,०१७ पटक आकस्मिक तथा नियमित चेकिङ सञ्चालन गरिएको छ। फौजदारी न्याय प्रणालीको प्रभावकारिता र दण्डहीनताको अन्त्यका लागि अदालतबाट फैसला भई फरार रहेका कसुरदारहरूलाई कानुनी दायरामा ल्याउन सञ्चालित फैसला कार्यान्वयन अभियानअन्तर्गत कुल १,१६२ जनालाई पक्राउ गरी निजहरूबाट ३०२ वर्ष ४ महिना १८ दिन कैद र रू. १५,७८,९८,७०७ जरिवाना असुल उपर गरिएको छ। साथै, विभिन्न कारागार तथा थुनाबाट फरार रहेका थप ६७ जना कैदीहरूलाई समेत पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइएको छ।
समाजमा शान्ति सुरक्षा खल्बल्याउने र युवा पुस्तालाई दुर्व्यसनमा फसाउने लागुऔषध कारोबारविरुद्ध काठमाडौँ उपत्यका प्रहरी कार्यालयले शून्य सहनशीलताको नीति अख्तियार गरिएको छ। लागुऔषधको अवैध ओसारपसार र सेवनले चोरी, लुटपाट र जघन्य अपराधलाई समेत प्रोत्साहन गर्ने भएकाले यसको आपूर्ति सञ्जाल ध्वस्त पार्न चलाइएको सघन कारबाहीअन्तर्गत प्रथम त्रैमासिकमा कुल ४४४ वटा मुद्दा दर्ता गरी ३७८ जनालाई पक्राउ गरिएको छ। सो क्रममा कुल ७२ केजी ८६ ग्राम २२८ मिलिग्राम गाँजा, १३ केजी ३९८ ग्राम पोल्याण्ड/पोलेन, ७६७ ग्राम ९५० मिलिग्राम खैरो हेरोईन र ट्रमाडोलसहित विभिन्न प्रकारका २,९५,६७६ एम्पुल तथा चक्की नियन्त्रित लागुऔषध बरामद गरिएको छ। यसैगरी, राज्यको अर्थतन्त्रलाई अनौपचारिक माध्यमबाट कमजोर बनाउने र राजस्व छलीलाई प्रश्रय दिने आर्थिक अपराध नियन्त्रणतर्फ हुण्डी कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरी ४ वटा मुद्दा दर्ता गरिएको छ, जसमा कुल रू. १,६०,८४,१८० बिगो मागदाबी कायम गरिएको छ। भन्सार छली तथा अवैध सुनचाँदी ओसारपसार नियन्त्रणतर्फ कुल २७ जना व्यक्तिहरूलाई पक्राउ गरी निजहरूको साथबाट २३ केजी ८८८.०६ ग्राम सुनजस्तो देखिने पहेँलो धातु बरामद गरिएको छ। साथै, सामाजिक विकृति र आर्थिक अपराधको अर्को पाटो मानिने जुवातास नियन्त्रणतर्फ नियमित त्रैमासिक अवधिमा कुल १४ वटा मुद्दा दर्ता गरी ११९ जनालाई पक्राउ गर्नुका साथै खालबाट कुल रू. ४१,४३,५७५ बरामद गरिएको छ।
सार्वजनिक स्थलको सुरक्षा, महिला तथा बालबालिकामाथि हुने दुर्व्यवहार न्यूनीकरण र सडक अनुशासन कायम राख्नु आधुनिक सहरी पुलिसिङको प्रमुख आधार हो। शंकास्पद गतिविधि र सम्भावित अपराधको जोखिमलाई सुरुवाती चरणमै निस्तेज पार्न सञ्चालित ‘स्विप अपरेशन’ अन्तर्गत तीन महिनामा कुल २,७३४ जना (७२.८२ प्रतिशत अर्थात् १,९९१ पुरुष र २७.१८ प्रतिशत अर्थात् ७४३ महिला) लाई नियन्त्रणमा लिई छानबिन गरिएको छ। सार्वजनिक सवारी र भिडभाड हुने स्थानमा हुने लैङ्गिक हिंसा तथा दुर्व्यवहार रोक्न परिचालित ‘सेफ्टी पिन अपरेशन’ मार्फत कुल ६३७ जनालाई पक्राउ गरिएकोमा गम्भीर कसुर देखिएका ६३ जना प्रतिवादीउपर ४३ वटा मुद्दा दर्ता गरिएको छ भने सामान्य प्रकृतिका ५७४ जनालाई सचेत गराई आफन्तको जिम्मा लगाइएको छ। सवारी दुर्घटना न्यूनीकरण र सडक सुरक्षाका लागि मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६,९३८ जना र लागुऔषध सेवन (लापसे) गरी सवारी चलाउने ७८ जना गरी जम्मा ६,९९० जना चालकहरूलाई कारबाही गरिएको छ। नागरिकको सम्पत्तिको सुरक्षातर्फ सवारी साधन चोरी तथा हराएको भनी परेका कुल ५२१ उजुरीहरूमध्ये प्रहरीको सक्रिय खोजतलासबाट २५७ वटा सवारी साधन फेला पारी २२१ वटा सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ भने चोरीमा संलग्न ३४ जना व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइएको छ।
नियमित त्रैमासिक कार्यसम्पादनका अतिरिक्त चाडपर्वको समयमा उपत्यकाबाट बाहिरिने र भित्रिने नागरिकको चाप बढ्ने, आर्थिक कारोबार उच्च हुने र चोरी तथा लुटपाटको जोखिम बढ्ने हुँदा काठमाडौँ उपत्यकाको सुरक्षा विश्लेषण र विगतको अनुभव तथा तथ्याङ्कमा आधारित रही मिति २०८३ असोज १८ गतेदेखि कार्तिक १८ गतेसम्म १ महिनाको अवधिमा ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना’ लागू गरिएको छ। यस विशेष योजनाअन्तर्गत काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट उपत्यकामा शान्ति सुरक्षा कायम गर्न प्रहरी नायव महानिरीक्षक (प्र.ना.म.नि.) सम्मका विभिन्न दर्जाका कुल ८,६६८ जना प्रहरी जनशक्ति प्रत्यक्ष परिचालन गरिएको छ। अपराध रोकथाम र प्रतिकार्यका लागि कमाण्ड पोष्ट स्थापना, पैदल तथा सवारी गस्ती, सादा पोसाकमा सूचना सङ्कलन, यात्रु तथा नागरिक सहायताका लागि ३७ वटा हेल्प डेस्कहरू (Help Desk), चौबिसै घण्टा उपत्यकाका नाका तथा संवेदनशील क्षेत्रमा २२ वटा नाका चेकिङ एवं डग स्निफिङ सहितको चेकिङ र प्रविधिको उच्चतम प्रयोगस्वरूप सिसिटिभी तथा ड्रोनमार्फत गस्ती र निगरानी लगायतका विशेष तथा नियमित सुरक्षा उपायहरू अवलम्बन गरिएको छ। प्रविधि र मानवीय सूचना सङ्कलनको यो संयोजनले अपराध हुनुअगावै सूचना प्राप्त गर्न र अपराधीको मनोबल गिराउन निर्णायक भूमिका खेलेको छ।
उक्त एक महिने चाडपर्व विशेष सुरक्षा अभियानको प्रत्यक्ष नतिजास्वरूप चाडपर्वको आडमा हुने अवैध जुवातास र आतिसवाजी (पटाका) को कारोबारमाथि प्रभावकारी नियन्त्रण भएको छ। यस विशेष अवधिमा जुवाताससम्बन्धी कुल १२ वटा मुद्दा दर्ता गरी ९१ जनालाई पक्राउ गरिएको छ र निजहरूबाट कुल रू. २८,७९,७७५ नगद र ४९ बुक ताससहित बरामद गरिएको छ। त्यसैगरी, आगलागी, ध्वनि प्रदूषण र शारीरिक अंगभंगको उच्च जोखिम निम्त्याउने अवैध पटाकाको आयात तथा बिक्री वितरण नियन्त्रणतर्फ १२ जना व्यक्तिहरूलाई पक्राउ गरिएको छ। सो कारबाहीका क्रममा विभिन्न चक्र, गमला लगायतका कुल ३४,३५७ पिस पटाका, सिल्भर टर्चर र पड्किने पटाका लगायतका १३,८४९ प्याकेट र ३ बोरामा बेवारिसे अवस्थामा रहेका विभिन्न प्रकारका पटाकाहरू समेत फेला पारी जफत गरिएको छ। समग्रमा, काठमाडौँ उपत्यका प्रहरी कार्यालयद्वारा सञ्चालित नियमित त्रैमासिक कारबाही र चाडपर्व लक्षित विशेष सुरक्षा योजनाको रणनीतिक कार्यान्वयनले उपत्यकामा आम नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ ।
साथै, चाडपर्व मनाउने तथा मनोरञ्जनको नाममा जुवातास खेल्ने वा खेलाउने तथा पटाका एवम् विस्फोटक पदार्थ पड्काउने कार्य नगर्नुहुन अनुरोध छ। यस्ता अवाञ्छित गतिविधि कसैले देखेमा वा फेला पारेमा नजिकको प्रहरी कार्यालयमा सूचना दिनुहुन अनुरोध गर्दछौँ। चौबिसै घण्टा प्रहरी र प्रविधि परिचालन गरी काठमाडौँ उपत्यकाको भरपर्दो सुरक्षा व्यवस्थापन गरिएको हुँदा ढुक्कसँग दीपावली तथा छठ पर्व मनाउनुहुन अनुरोध गर्दै, यहाँहरू सम्पूर्णमा दीपावली तथा छठ पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
सुरक्षित राजधानी, सुदृढ प्रहरी र नागरिकको भरोसा
-
सिंहदरबारभित्रै जेब्रा क्रसिङमा सांसद गैरेलाई गाडीको ठक्कर, ट्रमा सेन्टरमा उपचार
-
आज धनतेरस मनाइँदै, तिहार पर्व सुरु
-
सत्ताको स्वार्थमा प्रहरी प्रमुखमाथि प्रहार : प्रहरी संगठनलाई राजनीतिक खेलमैदान बनाउने दुस्साहस !
-
प्रधानमन्त्री बालेन शाह र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेटवार्ता
३० वर्षअघिको घटना सम्झायो प्रहरी नेतृत्व परिवर्तनले
१ दिन अगाडि
1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौँ । रास्वपाको सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने निर्णय गरेसँगै…





