कागजातमा समृद्धिको यात्रा, व्यवहारमा वि.सं. २०२०कै विभेद: अझै कति सहने जातीय उत्पीडन?

शोबिका गोले

राज्यले ‘डिजिटल नेपाल’ र ‘आर्थिक समृद्धि’ का ठुलाठुला नाराहरू घन्काइरहँदा अनि युवा पुस्ता आर्टिफिसियल इन्टेलिजेन्स र ग्लोबल कनेक्टिभिटीका कुरामा रमाइरहँदा पनि यही कथित आधुनिक समाजको अर्को कुनामा एउटा नागरिकले केवल ‘तल्लो जात’ भएकै कारण अपमान, सामाजिक बहिष्कृत र ज्यानै समेत गुमाउनुपरेको क्रूर यथार्थ हाम्रासामु जीवन्त छ। यो विरोधाभासले प्रश्न उठाउँछ— कागजातमा देश समृद्धिको यात्रामा दौडिरहँदा, हाम्रो चेतना र व्यवहार भने वि.सं. २०२० सालकै वरिपरि किन घुमिरहेछ?

विगत ६ दशकभन्दा लामो कानुनी इतिहासलाई हेर्ने हो भने वि.सं. २०२० सालको मुलुकी ऐनदेखि हालको नेपालको संविधान (२०७२) को धारा २४ र जातीय भेदभाव तथा छुवाछुत ऐन २०६८ ले यस प्रथालाई कडा अपराध मानेको त देखिन्छ तर कानुनका पानामा लेखिएका यी सुनौला अक्षरहरू दलित समुदायका लागि केवल आश्वासन मात्र बनेका छन् किनभने राज्यले कानुनी किताब त बदल्यो तर मानिसको मानसपटलमा रहेको जातीय अहङ्कारको भाइरसलाई सफा गर्ने ठोस सामाजिक र सांस्कृतिक अभियान कहिल्यै चलाएन जसका कारण समाजमा निम्न समस्याहरू अझै उस्तै छन्:

मानव विकास सूचकाङ्कमा गम्भीर खाडल जसका कारण दलित समुदायका नागरिकहरू आर्थिक र शैक्षिक रूपमा अझै पनि समाजको सबैभने पिँधमा बाच्न विवश छन् र उत्पादनको मुख्य साधन मानिने जमिनमाथिको स्वामित्व अत्यन्तै न्यून हुँदा उनीहरू पुस्ताौँदेखि आर्थिक परनिर्भरताको चक्रव्यूहमा फसेका छन्

राज्यका प्रमुख अङ्गहरूमा समावेशी प्रतिनिधित्वको उपहास जहाँ राजनीति, प्रशासन र न्यायलय जस्ता नीति निर्माण तहमा दलित समुदायको उपस्थिति अझै पनि साङ्केतिक मात्रै सीमित छ र उनीहरूको वास्तविक पीडा र आवाजले राज्यको उपल्लो तहमा सही निकास पाउन सकेको छैन

अन्तरजातीय प्रेम र विवाह गरेकै निहुँमा हत्या जसमा रुकुम पश्चिमका नवराज विक र काभ्रेका अजित मिजार लगायतका कैयौँ होनहार युवाहरूले २१ औँ शताब्दीमा पनि सामूहिक हत्याको शिकार हुनुपरेको छ भने देशको राजधानी काठमाडौँमै शिक्षित भनिने घरबेटीहरूबाट थर सोधेकै भरमा दलित विद्यार्थी र कर्मचारीहरू कोठा पाउनबाट वञ्चित भइरहेका छन्

न्याय निरूपणमा राजनीतिक र सामाजिक दबाब हावी जसले गर्दा विभेदका घटनाहरू प्रहरीमा दर्ता गर्न आलटाल गरिने र पीडकलाई सामाजिक रोहबरमा सजिलै उन्मुक्ति दिने प्रवृत्ति मौलाएकाले अपराधीहरूको मनोबल झन्झन् बढ्दै गइरहेको छ

त्यसैले अब कागजी कानुनको भर मात्र नपरी हरेक राजनीतिक दलले आफ्ना कार्यकर्तालाई जातीय संरक्षण दिन बन्द गर्नुपर्छ भने युवा पुस्ताले आफ्नै भान्छा र घरबाट विद्रोह गरी पुराना सोच भएका अभिभावकलाई सम्झाउँदै विद्यालय तहदेखि नै समानतामूलक शिक्षाको जग बसाल्नुपर्छ किनकि जातभातको यो विभेदकारी पर्खाल नभत्काएसम्म देशको लोकतन्त्र र समृद्धिको गफ केवल पाखण्ड मात्र साबित हुने भएकाले समानताको सुरुवात आजैबाट, आफैँबाट र आफ्नै व्यवहारबाट गरौँ।

Facebook Comments Box
TOP
30 Shares