आईजीपी मनोज केसीले एसएसपी प्रविण पोखरेललाई ल्याए सचिवालयमा, तत्काल ठूलो फेरबदल नगर्ने नीति

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रविण पोखरेललाई आफ्नो सचिवालयमा जिम्मेवारी दिएका छन् । राष्ट्रिय सुरक्षा परिषद्, सिंहदरबारमा कार्यरत पोखरेललाई आईजीपी केसीले सचिवालयमा ल्याएका हुन् ।

प्रहरी नेतृत्व परिवर्तन भएसँगै अघिल्लो आईजीपीको सचिवालयमा कार्यरत अधिकृतहरूलाई फेरबदल गर्ने प्रचलन रहँदै आएको छ । तर, आईजीपी केसीले भने पूर्वआईजीपी दानबहादुर कार्कीको सचिवालयमा कार्यरत रहेकै आधारमा कुनै पनि प्रहरी कर्मचारीमाथि भेदभाव नगर्ने नीति लिएको बुझिएको छ ।

आईजीपी केसीको सचिवालयमा कार्यरत एक अधिकृतका अनुसार नेतृत्व परिवर्तन भएकै कारण कर्मचारीलाई पूर्वाग्रह राखेर हटाउने वा जिम्मेवारीबाट पन्छाउने नीति महानिरीक्षकले लिएका छैनन् ।

हाल आईजीपीको सचिवालयमा प्रवक्ताको जिम्मेवारीमा डीआईजी अविनारायण काफ्ले, सहप्रवक्तामा एसएसपी दीपशमशेर जबरा, एसपी धर्मराज भण्डारी र डीएसपी शेखरजङ्ग मल्ललगायतका अधिकृत कार्यरत छन् ।

स्रोतका अनुसार सचिवालयमा कार्यरत केही अधिकृत नियमित सरुवाअन्तर्गत तिहारलगत्तै अन्य जिम्मेवारीमा जान सक्ने भए पनि आईजीपी परिवर्तन भएकै कारण तत्काल ठूलो संख्यामा फेरबदल गर्ने योजना छैन ।

सचिवालयको जिम्मेवारी पाएका एसएसपी पोखरेलले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गर्नुका साथै सर्लाही, रुपन्देहीलगायतका जिल्लाको प्रहरी कमाण्ड सम्हालिसकेका छन् ।

Facebook Comments Box
TOP
15 Shares